नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै नेपाल, यी खेलाडीले पाए प्लेइङ-११ मा मौका

काठमाडौं- त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध टस जितेर ब्याटिङ रोजेको छ।

यी दुई देशबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा १ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ। नेपालले सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९–९ विकेटले पराजित गरेको थियो। नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ।

नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ। नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगावै फाइनल पुग्नेछ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ। पाहुना टोली नेदरल्यान्ड्सलाई हराएर नेपाल सिरिजमा लगातार तेस्रो जित निकाल्न चाहन्छ।

नेदरल्यान्ड्स पनि नेपाललाई हराएर फाइनल पुग्ने सम्भावना बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएको छ। नेदरल्यान्ड्सले २ खेलमा १ जितसहित २ अंक जोडेको छ। नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ। नेदरल्यान्ड्स पहिलो खेलमा ब्यहोरेको हारको बदला लिने सोचसहित मैदान उत्रिएको छ।

दुई खेलमा पराजय भोगेको मलेसियाले अंक जोड्न सकेको छैन। राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष दुई टोली ११ गते फाइनल खेल्ने छन्।

नेदरल्यान्ड्सलाई सहजै हराउन नेलाईलाई त्यति सहज भने हुने छैन। मलेसियासँगको खेलमा नेदरल्यान्ड्स उत्कृष्ट ब्याटिङ गरेको थियो। उसका ओपनर म्याक्स ओडाउडले आक्रामक ब्याटिङ गर्दै शतकीय पारी खेलेका थिए।

नेपालले म्याचमा आफ्नो पकड बनाउन सुरुवातमै उनलाई आउट गर्नुपर्नेछ। उनले नेपालसँगको खेलमा १० मात्र बनाएका थिए। उनलाई सन्दीप लामिछानेले ‘एल्बीडब्लू’ आउट गरेका थिए।

नेपाली बलरहरुले एकपछि अर्को खेलमा लगातार उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। पहिलो खेलमा सन्दीपले महत्वपूर्ण दुई विकेट लिएका थिए। पुनः सन्दीपले म्याच जिताउन नेदरल्यान्ड्सविरुद्ध उत्कृष्ट बलिङ गर्नुपर्ने नै छ।

सिरिजमा तीव्रगतिका बलर करण केसी र सोमपाल कामीले पनि राम्रो बलिङ गरेका छन्। बलिङमा करण, सोमपाल र सन्दीप नेदरल्यान्ड्सका लागि घातक बन्न सक्छन्।

नेपालले यो सिरिजमा ब्याटिङ उत्कृष्ट गरेको छ। नेपालका ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख उत्कृष्ट लयमा छन्। दुवैले रन बनाइरहेका छन्।

शनिबार नेदरल्याण्ड्सविरुद्ध कुशल र आशिफले पहिलो विकेटका लागि १ सय १६ रनको साझेदारी बनाएका थिए। मलेसियाविरुद्ध पनि आशिफ र कुशलबीच पहिलो विकेटका लागि १ सय २ रनको साझेदारी बनेको थियो।

नेपालले प्लेइङ–११ मा कुनै परिवर्तन गरेको छैन। मलेसियाविरुद्धको खेलमा खेलाएको सेटलाई नै आजको खेलमा उतारेको छ।

पछिल्ला पाँच खेलको नतिजा हेर्न हो भने नेपाल बलियो देखिन्छ। नेपालले पाँच खेलमध्ये तीन जित हात पारेको छ। एक खेल नतिजाविहीन भएको थियो।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र शाहब आलम।

Loading...