दीपेन्द्रले पूरा गरे पहिलो अर्धशतक, कुशलले बनाए विश्वकीर्तिमान

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत तेस्रो खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाली टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक पूरा गरेका छन् ।

उनले २८ बलमा दुई छक्का र तीन चौकासहित अर्धशतक पूरा गरेका हुन् ।

अन्तर्राष्ट्रिय टी-२० क्रिकेटमा ऐरीको यो पहिलो अर्धशतक हो ।

त्यसअघि, ओपनर कुशल भुर्तेलले पनि अर्धशतक पूरा गरिसकेका छन् । उनले ४१ बलमा ६ चौका र एक छक्कासहित अर्धशतक पूरा गरे ।

जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतक हो ।

योसँगै उनले नयाँ कीर्तिमान बनाएका छन् । उनले टी-२० अन्तर्राष्ट्रिय डेब्यू सिरिजमा लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान बनाएका हुन् ।

नेपालले आज नेदरल्याण्ड्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गरिरहेको हो ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो। नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ।

नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ। नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगावै फाइनल पुग्नेछ ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । पाहुना टोली नेदरल्यान्ड्सलाई हराएर नेपाल सिरिजमा लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

Loading...