नेपालले नेदरल्याण्ड्सलाई दियो कीर्तिमानी लक्ष्य

काठमाडौं-  काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा घरेलु टोली नेपालले नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो योगफल नेपालको नेदरल्याण्डविरुद्ध हालसम्मकै ठूलो योगफल हो ।

उसका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार तेस्रो अर्धतकीय पारी हो ।

योसँगै कुशलले डेब्यू टी-२० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाएका छन् ।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । उनले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाए ।

बलिङमा भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिए ।

नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स र दोस्रोमा मलेसियालाई समान ९/९ विकेटले पराजित गरेको थियो। नेपाल आज नेदरल्यान्ड्समाथि जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा छ ।

नेपालले दुई खेलमा शतप्रतिशत जितसहित ४ अंक जोडेको छ। नेदरल्यान्ड्सलाई हराएमा नेपाल लगातार तेस्रो जितसहित एक खेल अगावै फाइनल पुग्नेछ ।

नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ । पाहुना टोली नेदरल्यान्ड्सलाई हराएर नेपाल सिरिजमा लगातार तेस्रो जित निकाल्न चाहन्छ ।

नेपालले आज प्लेइङ-११ मा कुनै परिवर्तन गरेको छैन । मलेसियाविरुद्धको खेलमा खेलाएको सेटलाई नै आजको खेलमा उतारेको छ ।

पछिल्ला पाँच खेलको नतिजा हेर्न हो भने नेपाल बलियो देखिन्छ । नेपालले पाँच खेलमध्ये तीन जित हात पारेको छ । एक खेल नतिजाविहीन भएको थियो ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकिपर), सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा र शाहब आलम।

Loading...