नेपालविरुद्ध नेदरल्याण्ड्सको रोमाञ्चक जित, यी खेलाडी बने जितका ‘हिरो’

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेपालविरुद्ध नेदरल्याण्ड्स तीन विकेटले विजयी भएको छ ।

नेपालले दिएको २ सय ५ रनको लक्ष्य नेदरल्याण्ड्सले १९.ओभरमा ७ विकेट गुमाएर भेट्टायो ।

उसका लागि बासडी लिडेले अविजित ८१, बेन कपूरले ५५, कप्तान पीटर सीलारले ३१, टोबिएस भिसेले १५ रन बनाए ।

बलिङमा सन्दीप लामिछानेले चार, कुशल मल्ल, अविनाश बोहरा र करण केसीले एक/एक विकेट लिए ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६ रन बनायो ।

उसका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले अर्धशतकीय पारी खेले ।

कुशलले ४६ बलमा आठ चौका र एक छक्कासहित ६२ रन बनाए । जारी सिरिजमा उनको यो लगातार तेस्रो अर्धतकीय पारी हो ।

योसँगै कुशलले डेब्यू टी-२० सिरिजमै लगातार तीन अर्धशतक बनाउने विश्वकीर्तिमान पनि बनाएका छन् ।

त्यस्तै, उपकप्तान ऐरीले ३० बलमा पाँच छक्का र तीन चौकासहित ६० रनको योगदान दिए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो अर्धशतक हो ।

कुशल मल्लले पनि आक्रामक ब्याटिङ गरे । उनले सात बलमा तीन छक्काको मद्दतमा १८, कप्तान ज्ञानेन्द्र मल्लले २०, विनोद भण्डारीले सात र सोमपाल कामीले अविजित २१ रन बनाए ।

बलिङमा भिभियन किंग्मा, कप्तान पीटार सीलारले दुई/दुई, बासडी लिडे र आर्यन दत्तले एक/एक विकेट लिए ।

Loading...