सन्दीपको बलिङ प्रदर्शनबारे के भन्छन् कप्तान मल्ल?

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२०  सिरिजअन्तर्गत नेदरल्याण्ड्ससँग नेपाल तीन विकेटले पराजित भयो ।

विशाल लक्ष्य दिँदा पनि टिम पराजित भएपछि विभिन्न कारणले बहस भइरहेको छ ।

यसैबीच, नेपाली टिमका कप्तान ज्ञानेन्द्र मल्लले हारको कारण बताएका छन् । उनले खराब फिल्डिङ र बलिङका कारण पराजित भएको प्रतिक्रिया दिए ।

‘सुरूमा हामीले खेललाई सजिलो गरी लिएको जस्तो लाग्यो । नेदरल्याण्ड्सले जसरी ब्याटिङ गर्‍यो, ब्याट्सम्यानलाई पनि श्रेय जान्छ । हामीले पनि दुई चार ओभर ६ रन भन्दा कम दिन सकेको भए राम्रो हुन्थ्यो,’ खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान मल्लले भने, ‘खेलमा सायद भन्ने सधैँ हुन्छ । मिसफिल्ड भन्ने कुरा बाउन्सले गर्दा फरक पार्छ । रन रोक्न सकिन्थ्यो होला अथवा सकिँदैन थियो होला ।’

ज्ञानेन्द्रलले नेपाली ब्याट्सम्यानको भने खुलेर प्रसंशा गरे । ‘ब्याटिङ हामीले सोचेको जस्तो भइरहेको छ । विकेट पनि राम्रो छ। सबैले सकारात्मक तरिकाले ब्याटिङ गरिरहेका छन् । विकेट राम्रो भएकाले अहिले ब्याटमा बल मजाले आइरहेको छ । त्यसैले खुलेर खेलिरहेका छन्,’ उनले भने, ‘कुशल भुर्तेलले एकदमै राम्रो खेल्यो । उसले अझ बढी स्कोर गर्न सक्थ्यो होला । तर पनि म खुसी छु । उसले हामीलाई राम्रो सुरुवात दिलायो । जसले गर्दा हामीलाई लय समातेर अघि बढ्न सजिलो भयो । उसले रेकर्ड पनि बनाएको छ । यसलाई निरन्तरता दिन सकुन् ।’

कुशल मल्ल र करण केसी छिटो आउट हुँदा नेपाल आठ/दश रन बनाउन चुकेको कप्तान मल्लले बताए ।

‘हामीले ८/१० रन तान्न सकेको भए राम्रो हुन्थ्यो । बीचमा कुशल मल्ल र करण केसी चाडै आउट भए । त्यसले फरक पर्‍यो जस्तो लाग्छ । सन्दीप अनुभवी बलर हो,’ उनले भने, ‘सन्दीपलाई विकेट निस्कि‍न्छ कि भनेर १८ ओभरमा बलिङ गराएको हो । उनीहरूले मिडियम पेस राम्रो खेलिरहेका थिए । विकेट पनि राम्रै थियो । उसले विकेट लिन्छ कि भन्ने थियो । एउटा जुवा जस्तै भयो ।’

Loading...