पाँच हारपछि दिल्लीले मुम्बईलाई हरायो, शिखर र मिश्राको उत्कृष्ट प्रदर्शन

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत मुम्बई इण्डियन्सविरुद्ध दिल्ली क्यापिटल्स ६ विकेटले विजयी भएको छ ।

मुम्बईविरुद्ध खेलिएका पछिल्ला पाँच म्याचमा दिल्लीले लगातार हारको सामना गरेको थियो । गत सिजनमा पनि दिल्लीले मुम्बईविरुद्ध एक खेलमा पनि जित हासिल गर्न सकेको थिएन ।

मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

उसका लागि शिखर धवनले ४५, स्टिभ स्मिथले ३३, ललित यादवले अविजित २२ र शिमरोन हेटमायरले नटआउट १४ रन बनाए ।

बलिङमा जयन्त यादव, जसप्रीत बुमराह, राहुल चाहर र किरण पोलार्डले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले ४४, इशान किशनले २६, सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा अमित मिश्राले चार ओभरमा २४ रन दिएर सर्वाधिक चार विकेट हात पारे ।

त्यस्तै, आवेश खानले दुई, ललित यादव, कागिसो रबाडा र मार्कस स्टोइनिसले एक/एक विकेट लिए ।

आजको जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।

मुम्बईले चार म्याचमा दुईमा जित र दुई खेलमा हार ब्यहोरेको छ ।

अंक तालिका :

Loading...