धोनीपछि रोहितलाई १२ लाख भारु जरिवाना

काठमाडौं- आईपीएलको सफल टिम मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मालाई १२ लाख भारु जरिवाना गरिएको छ ।

‘स्लो ओभर रेट’का कारण उनलाई बीसीसीआईले १२ लाख भारु अर्थात् १९ लाख नेपाली रुपैयाँ जरिवाना गरेको हो ।

आईपीएल २०२१ देखि बीसीसीआईले एक इनिङ्सका लागि ९० मिनेटको समय दिने नियम बनाएको छ । सो अवधिमा इनिङ्स समाप्त नगरे टिम कप्तानलाई १० लाख जरिवानाको व्यवस्था गरिएको छ ।

जारी सिजनमा चेन्नई सुपर किंग्स (सीएसके)का कप्तान महेन्द्रसिंह धोनीलाई पनि बीसीसीआईले ‘स्लो ओभर रेट’कै कारण जरिवाना गरिसकेको छ ।

दिल्लीवरुद्ध मुम्बई ६ विकेटले पराजित

गएराति सम्पन्न खेलमा दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इण्डियन्स ६ विकेटले पराजित भएको छ । जारी सिजनमा मुम्बईको यो दोस्रो हार हो ।

उसले तीन म्याचमा दुई खेलमा जित हासिल गरेको छ ।

मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

उसका लागि शिखर धवनले ४५, स्टिभ स्मिथले ३३, ललित यादवले अविजित २२ र शिमरोन हेटमायरले नटआउट १४ रन बनाए ।

बलिङमा जयन्त यादव, जसप्रीत बुमराह, राहुल चाहर र किरण पोलार्डले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले ४४, इशान किशनले २६, सूर्यकुमार यादवले २४ र जयन्त यादवले २३ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । बलिङमा अमित मिश्राले चार ओभरमा २४ रन दिएर सर्वाधिक चार विकेट हात पारे ।

त्यस्तै, आवेश खानले दुई, ललित यादव, कागिसो रबाडा र मार्कस स्टोइनिसले एक/एक विकेट लिए ।

मुम्बईसँगको जितसँगै दिल्ली दोस्रो स्थानमा उक्लिएको छ । दिल्लीले चार म्याच खेल्दा तीनमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।

Loading...