नेपाल एक खेल अगावै ‘त्रिकोणात्मक सिरिज’को फाइनलमा

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्याण्ड्स र मलेसियाबीचको खेल टाई भएको छ ।

आजको खेल टाइ भएसँगै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।

नेपालले उपाधिका लागि नेदरल्याण्ड्सको सामना गर्नेछ । फाइनल म्याच शनिबार हुनेछ ।

नेपालले लिगको अन्तिम खेल भोलि मलेसियाविरुद्ध खेल्ने छ ।

डकवर्थ लुइस मेथडका आधारमा मलेसियाले १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो ।

सो लक्ष्य पछ्याउन मैदान उत्रिएको मलेसियाले १० ओभरमा ४ विकेट गुमाएर ९१ रन बनायो । उसका लागि सैयद अजीजले ३०, अवर अरुद्दीनले २३ र वीरन्दीप सिंहले १३ रन बनाए ।

बलिङमा सेबस्टियान ब्राटले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि, वर्षाका कारण १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्सले ४ विकेट गुमाएर १०७ रन बनायो ।

मलेसियाले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १०.२ ओभर खेल्दै ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी परेपछि खेल केही समय रोकिएको थियो ।

पानी पर्न छाडेपछि १३ ओभरमा खेल घटाएर पुनः सुरू गरिएको थियो ।

फेरि पानी परेपछि डकवर्थ लुइस मेथडको आधारमा मलेसियालाई नेदरल्याण्ड्सले १० ओभरमा ९२ रनको लक्ष्य दियो ।

नेदरल्याण्ड्सले बेन कुपरको अर्धशतक मद्दतमा १०७ रन बनाएको थियो । कुपरले ३२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए ।

कप्तान सिलारले ३७ रन जोडे । एन्टोनिओस स्टाल १० रनमा अविजित रहे ।

नेदरल्याण्ड्सले आज दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवाड्र्सलाई आराम दिएको छ ।

२२ रन हुँदा ३ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि बेन कुपर र कप्तान पिटर सिलारले ६८ रनको साझेदारी गरेका थिए ।

मलेसियाका लागि मोहम्मद वाफिकले २ तथा पवनदीप सिंह र विरनदीप सिंहले एक/एक विकेट लिए ।

Loading...