नेपाल-मलेसियाको खेल भोलि, यस्तो छ दुवैको सम्भावित-११

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत भोलि नेपाल र मलेसिया खेल्दै छन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ ।

जारी प्रतियोगितामा नेपालले तीन म्याच खेलेको छ । जसमा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।

मलेसियाले भने तीन म्याचमा दुईमा हार र एक खेल बराबरीमा टुंग्याएको छ । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबार नेदरल्याण्ड्स-मलेसियाबीचको खेल ‘टाइ’ भएसँगै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा नेपालले शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा मलेसियाले ब्याटिङबाट राम्रो प्रदर्शन गरिरहेको छ ।

मलेसियासँग हार ब्यहोरेको विगत भएकाले बिहीबारको खेलमा नेपाल पूर्ण तयारीका साथ मैदान उत्रिने छ ।

भोलिको खेल नेपालले प्लेइङ-११ मा परिवर्तन गर्न सक्छ ।

नेपालले साहब आलमको स्थानमा सुशन भारीलाई प्लेइङ-११ मा समावेश गर्न सक्छ । साथै, नेपालले सन्दीप लामिछानेलाई फाइनलका लागि विश्राम दिएर साहब र सुशनलाई नै खेलाउने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै, नेपालले मलेसियाविरुद्ध सोमपाल कामी वा करण केसीमध्ये एकलाई विश्राम दिएर कमलसिंह ऐरीलाई मौका दिन सक्छ ।

कमल बलिङमा साथै तल्लोक्रममा ब्याटिङ पनि गर्न सक्छन् । उनले यो सिरिजमा एक म्याचमा पनि खेल्ने मौका पाएका छैनन् ।

नेपालको सम्भावित प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी/कमलसिंह ऐरी, अविनाश बोहरा र सुशन भारी ।

मलेसियाको सम्भावित प्लेइङ-११ : सायद अजिज, अनवर अरुदीन, अहमद फेज (कप्तान), वीरन्दीप सिंह, अमिनुदीन राम्ली, शफिक सरिफ (विकेटकिपर), खिजार हायत, मुहमद वाफिक, शर्विन मुनीदी, पवनदीप सिंह, र अनवर रहमान।

Loading...