नेपाल र मलेसियाको म्याच आज, सन्दीपलाई इतिहास रच्ने अवसर

काठमाडौं- काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपाल र मलेसिया खेल्दै छन् ।

यी दुई टिमबीचको दिउँसो १ः१५ बजेपछि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरू हुनेछ ।

जारी प्रतियोगितामा नेपालले तीन म्याच खेलेको छ । जसमा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।

मलेसियाले भने तीन म्याचमा दुईमा हार र एक खेल बराबरीमा टुंग्याएको छ । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबार नेदरल्याण्ड्स-मलेसियाबीचको खेल ‘टाइ’ भएसँगै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा नेपालले शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा मलेसियाले ब्याटिङबाट राम्रो प्रदर्शन गरिरहेको छ ।

मलेसियासँग हार ब्यहोरेको विगत भएकाले बिहीबारको खेलमा नेपाल पूर्ण तयारीका साथ मैदान उत्रिने छ । आजको खेल नेपालले प्लेइङ-११ मा परिवर्तन गर्न सक्छ ।

नेपालले साहब आलमको स्थानमा सुशन भारीलाई प्लेइङ-११ मा समावेश गर्न सक्छ । साथै, नेपालले सन्दीप लामिछानेलाई फाइनलका लागि विश्राम दिएर साहब र सुशनलाई नै खेलाउने सम्भावना पनि उत्तिकै छ ।

त्यस्तै, नेपालले मलेसियाविरुद्ध सोमपाल कामी वा करण केसीमध्ये एकलाई विश्राम दिएर कमलसिंह ऐरीलाई मौका दिन सक्छ ।

कमल बलिङका साथै तल्लो क्रममा ब्याटिङ पनि गर्न सक्छन् । उनले यो सिरिज एक म्याचमा पनि खेल्ने मौका पाएका छैनन् ।

सन्दीपलाई शतक बनाउने मौका!

आजको म्याच खेलमा स्पिनर सन्दीप लामिछानेले इतिहास रच्ने छन् । हालसम्म उनले ९९ टी-२० म्याच खेलेका छन् ।

मलेसियाविरुद्ध मैदान उत्रिएसँगै सन्दीपले शतक पूरा गर्नेछन् ।

अर्थात् उनी एक सय टी-२० म्याच खेल्ने पहिलो नेपाली क्रिकेटर बन्ने छन् । हालसम्म उनले विभिन्न लिग र राष्ट्रिय टिमबाट ९९ टी-२० म्याच खेलिसकेका छन् ।

राष्ट्रिय टिमबाट हालसम्म सन्दीपले २४ म्याच खेलेका छन् । बाँकी म्याच उनले विभिन्न लिगमा खेलेका हुन् ।

९९ टी-२० मा सन्दीपले कूल १३३ विकेट लिएका छन् । यो समयसम्म उनको इकोनमी ६.८३ छ ।

नेपालको सम्भावित प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी/कमलसिंह ऐरी, अविनाश बोहरा र सुशन भारी ।

मलेसियाको सम्भावित प्लेइङ-११ : सायद अजिज, अनवर अरुदीन, अहमद फेज (कप्तान), वीरन्दीप सिंह, अमिनुदीन राम्ली, शफिक सरिफ (विकेटकिपर), खिजार हायत, मुहमद वाफिक, शर्विन मुनीदी, पवनदीप सिंह, र अनवर रहमान ।

Loading...