आईपीएल : कप्तान मोर्गनलाई १९ लाख जरिवाना

काठमाडौं- आईपीएलको टिम कोलकाता नाइट राइडर्स (केकेआर)का कप्तान इयोन मोर्गनलाई १२ लाख भारु अर्थात् १९ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

‘स्लो ओभर रेट’का कारण उनलाई बीसीसीआईले १२ लाख भारु जरिवाना गरेको हो ।

गएराति चेन्नई सुपर किंग्स (सीएसके)सँगको खेलमा निर्धारित समयमा इनिङ्स समाप्त नगरेको भन्दै मोर्गनमाथि जरिवाना गरिएको हो ।

यो सिजनदेखि बीसीसीआईले टिमले एक इनिङ्स ९० मिनेटभित्र सक्नुपर्ने नियम बनाएको छ । सो अवधिमा इनिङ्स समाप्ति नगरे टिम कप्तानले १२ लाख भारु जरिवाना तिर्नुपर्छ ।

मंगलबार मात्रै मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मामाथि पनि बीसीसीआईले १२ लाख जरिवाना गरेको थियो ।

यसै सिजनमा सीएसकेका कप्तान महेन्द्रसिंह धोनीलाई पनि बीसीसीआईले १२ लाख भारु नै जरिवाना तिर्न भनेको थियो ।

कप्तानहरूले पनि गल्ती स्वीकार गरिसकेका छन् ।

चेन्नईविरुद्ध केकेआर पराजित

गएराति भएको खेलमा चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) १८ रनले पराजित भएको छ ।

चेन्नइले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको केकेआरले १९.१ ओभरमा सबै विकेट गुमाएर २ सय २ रन मात्र बनाउन सक्यो ।

उसका लागि प्याट कमिन्स र आन्द्रे रसेलले उत्कृष्ट ब्याटिङ गरे पनि टिमलाई जित दिलाउन सकेनन् ।

कमिन्सले ३४ बलमा ६ छक्का र चार चौकासहित अविजित ६६ र रसेलले २२ बलमा ६ छक्का र तीन चौकाको मद्दतमा ५४ रन बनाए ।

त्यस्तै, दिनेश कार्तिक ४० रनमा आउट हुँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा दीपक चाहरले चार, लुंगी एनगिडीले तीन र साम करनले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २० रन बनायो ।

उसका लागि फाफ डुप्लेसिसले उत्कृष्ट पारी खेले । उनले ६० बलमा चार छक्का र नौ चौकाको मद्दतमा अविजित ९५ रनको योगदान दिए ।

त्यस्तै, ऋतुराज गायकवाडले ६४, मोइन अलीले २५, कप्तान महेन्द्रसिंह धोनीले १७ र रवीन्द्र जडेजाले नटआउट ६ रन बनाए ।

बलिङमा वरुण चक्रवर्ती, आन्द्रे रसेल र सुनिल नाराणले एक/एक विकेट लिए ।

Loading...