नेपालको प्लेइङ-११ मा दुई खेलाडी परिवर्तन, सन्दीपले रचे इतिहास

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत मलेसियाविरुद्ध नेपालले टस हारेर ब्याटिङको मौका पाएको छ ।

यी दुई टिमबीचको खेल १ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुँदैछ ।

नेपालले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले साहब आमल र अविनाश बोहरालाई विश्राम दिँदै कमलसिंह ऐरी र सुशान भारीलाई मौका दिएको छ ।

कमलको यो डेब्यू म्याच हो ।

जारी प्रतियोगितामा नेपालले तीन म्याच खेलेको छ । जसमा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।

मलेसियाले भने तीन म्याचमा दुईमा हार र एक खेल बराबरीमा टुंग्याएको छ । नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरिसकेको छ ।

बुधबार नेदरल्याण्ड्स-मलेसियाबीचको खेल ‘टाइ’ भएसँगै नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको हो ।

फाइनलमा नेपालले शनिबार नेदरल्याण्ड्सको सामना गर्नेछ । जारी प्रतियोगितामा मलेसियाले ब्याटिङबाट राम्रो प्रदर्शन गरिरहेको छ ।

सन्दीपले रचे इतिहास

आजको म्याच खेलमा स्पिनर सन्दीप लामिछानेले इतिहास रचेका छन् । हालसम्म उनले ९९ टी-२० म्याच खेलेका छन् ।

मलेसियाविरुद्ध मैदान उत्रिएसँगै सन्दीपले शतक पूरा गरेका हुन् ।

अर्थात् उनी एक सय टी-२० म्याच खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । हालसम्म उनले विभिन्न लिग र राष्ट्रिय टिमबाट ९९ टी-२० म्याच खेलिसकेका छन् ।

राष्ट्रिय टिमबाट हालसम्म सन्दीपले २४ म्याच खेलेका छन् । बाँकी म्याच उनले विभिन्न लिगमा खेलेका हुन् ।

९९ टी-२० मा सन्दीपले कूल १३३ विकेट लिएका छन् । यो समयसम्म उनको इकोनमी ६.८३ छ ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी,कमलसिंह ऐरी र सुशन भारी ।

Loading...