नेपालद्वारा मलेसियालाई कीर्तिमानी लक्ष्य, करणले खेले करियरकै उत्कृष्ट पारी

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजको लिग चरणको अन्तिम खेलमा नेपालले पाहुना टोली मलेसियालाई २ सय १८ रनको लक्ष्य दिएको छ ।

टी-२० मा नेपालले मलेसियालाई दिएको यो हालसम्मकै ठूलो लक्ष्य हो ।

टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि करण केसीले आक्रामक पारी खेले । उनले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो उच्च स्कोर हो ।

यसअघि यो प्रारूपमा उनको उच्च ब्याटिङ अविजित ४० रन हो ।

त्यस्तै, आज आशिफ शेखले ३२ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाए ।

उनलाई अनवर रहमानले आउट गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा चार छक्का र एक चौका हिकाउँदै ४१ रनको योगदान दिए । कुशल भुर्तेल आज १६ रनमा आउट भए ।

कुशलले यसअघि लगातार तीन अर्धशतक बनाएका थिए । त्यस्तै, आज दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ रन बनाए ।

बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुई/दुई विकेट लिए ।

नेपालले प्लेइङ ११ मा आज दुई खेलाडी परिवर्तन गरेको छ । उसले साहब आमल र अविनाश बोहरालाई विश्राम दिँदै कमलसिंह ऐरी र सुशान भारीलाई मौका दिएको छ ।

कमलको यो डेब्यू म्याच हो ।

जारी प्रतियोगितामा नेपालले तीन म्याच खेलेको छ । जसमा दुईमा जित र एक खेलमा हारको सामना गरेको छ ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी,कमलसिंह ऐरी र सुशन भारी ।

Loading...