डेब्यूमै चम्किँए कमल, लिए दुई आक्रामक ब्याट्सम्यानको विकेट

काठमाडौं- त्रिकोणात्मक टी-२० सिरिजको लिग चरणको अन्तिम खेलअन्तर्गत मलेसियाविरुद्ध नेपाली टिमका युवा तीव्र गतिका बलर कमलसिंह ऐरीले उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उनले तीन ओभर बलिङ गर्दा महत्वपूर्ण दुई विकेट लिइसकेका छन् ।

कमलको यो डेब्यू म्याच हो । उनले दुई ओभरमा शेरमन मुन्डि र वीरन्दीप सिंहको विकेट लिएका हुन् । उनले तीन ओभरमा १६ रन दिएर दुई विकेट हात पारेका हुन् ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि करण केसीले आक्रामक पारी खेले । उनले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च ब्याटिङ अविजित ४० रन हो ।

त्यस्तै, आज आशिफ शेखले ३२ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाए ।

उनलाई अनवर रहमानले आउट गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा चार छक्का र एक चौका हिकाउँदै ४१ रनको योगदान दिए । कुशल भुर्तेल आज १६ रनमा आउट भए ।

कुशलले यसअघि लगातार तीन अर्धशतक बनाएका थिए । त्यस्तै, आज दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ रन बनाए ।

बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुई/दुई विकेट लिए ।

Loading...