सन्दीपले इतिहास रचेको खेलमा नेपालको फराकिलो जित

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा आज मलेसियालाई ६९ रनले हराउँदै नेपाल शीर्षमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।
नेपालले लिग चरणमा खेलेका चारमध्ये एक खेलमा मात्र हारको सामना गर्‍यो ।

नेपालले उपाधिका लागि शनिबार फाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

उसका लागि अनिमउद्दीन रेम्लीले ४१, कप्तान अहमद फैजले ३१, फित्री सामले १४, वीरन्दीप सिंहले १३ र मुहम्मद वाफिकले १२ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले तीन/तीन र सुशान भारीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि करण केसीले आक्रामक पारी खेले । उनले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो उच्च स्कोर हो । यसअघि यो प्रारूपमा उनको उच्च ब्याटिङ अविजित ४० रन हो ।

त्यस्तै, आज आशिफ शेखले ३२ बलमा तीन छक्का र तीन चौकाको मद्दतमा ४२ रन बनाए ।

उनलाई अनवर रहमानले आउट गरे ।

कप्तान ज्ञानेन्द्र मल्लले २५ बलमा चार छक्का र एक चौका हिकाउँदै ४१ रनको योगदान दिए । कुशल भुर्तेल आज १६ रनमा आउट भए ।

कुशलले यसअघि लगातार तीन अर्धशतक बनाएका थिए । त्यस्तै, आज दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ रन बनाए ।

बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुई/दुई विकेट लिए ।

सन्दीपले रचे इतिहास

नेपाली राष्ट्रिय टिमका स्पिनर सन्दीप लामिछानेले इतिहास रचेका छन् । उनले नेपालको तर्फबाट टी–२० क्रिकेटमा एक सय म्याच खेल्दै इतिहास रचेका हुन् ।

मलेसियाविरुद्ध मैदान उत्रिएसँगै सन्दीपले यो उपलब्धि हासिल गरे ।

अब उनी एक सय टी-२० म्याच खेल्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् । सन्दीपले विभिन्न लिग र राष्ट्रिय टिमबाट एक सय टी-२० म्याच खेलेका हुन् ।

राष्ट्रिय टिमबाट हालसम्म सन्दीपले २५ म्याच खेलेका छन् । बाँकी म्याच उनले विभिन्न लिगमा खेलेका हुन् ।

९९ टी-२० मा सन्दीपले कूल १ सय ३६ विकेट लिएका छन् । उनले नेपालका लागि २५ टी-२० अन्तर्राष्ट्रिय म्याचमा ४५ विकेट लिएका छन् ।

सन्दीप यो प्रारूपमा सर्वाधिक विकेट लिने नेपाली बलर पनि हुन् ।

Loading...