करणले बनाए नयाँ कीर्तिमान, आफ्नो प्रदर्शनबारे दिए प्रतिक्रिया

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत बिहीबार मलेसियाविरुद्ध नेपाली टिमका अलराउन्डर करण केसीले आक्रामक ब्याटिङ गरे ।

उनकै आक्रामक पारीले नेपालले मलेसियालाई २ सय १८ रनको विशाल लक्ष्य दियो ।

करणले आफ्नो आक्रामक पारीमा ७ छक्का हिर्काए । उनले १३ बलको सामना गर्दा ३४६.१५ को स्ट्राइक रेटमा ४५ रन बनाए ।

म्याच सकिएपछि करणले आफ्नो आक्रामक पारीबारे प्रतिक्रिया दिएका छन् ।

‘ब्याटिङमा मेरो रोल हिटिङ गरेर राम्रो फिनिस गर्ने हो । तीन ओभर बाँकी थियो । एउटा बाउन्ड्री हान्छु, त्यसपछि लगातार हान्छु भन्ने सोचेको थिएँ । कहिलेकाँही लागेको लाग्यै गर्छ, आज त्यस्तै भयो । दुई सय प्लस रन जसरी पनि कटाउछु भन्ने सोचेर गएको थिएँ,’ करणले म्याच सकिएपछि सञ्चारकर्मीसँग भने, ‘जहिलेसम्म खेल्छु, विश्व रेकर्ड बनाउने सम्भावना हुन्छ । आज मिस भए पनि भविष्यमा हुन्छ होला । त्यस्तो नराम्रो केही लागेको छैन । रेकर्ड बनाउन सकेको भए राम्रो हुन्थ्यो ।’

करणले आफू रेकर्ड बनाउनभन्दा पनि नेपाललाई जिताउन ध्यान दिने गरेको समेत बताए । ‘बाहिरबाट अझै एउटा छक्का हान भनिरहेका थिए । त्यो रेकर्डकै लागि भनेको होला भन्ने लागेको थियो । छक्का हान्छु भनेर त सोचेको थिएँ । तर बल राम्रै आयो,’ उनले भने, ‘सधैँ सोचेको जस्तो ब्याटिङ हुँदैन । मैले गर्ने हिटिङ नै हो, त्यसका लागि राम्रो दिन नै चाहिन्छ । सधैँ एकनास पनि हुन्न । जुन दिन ब्याटिङ गर्छु नेपाललाई जिताउँछु भनेर नै खेल्छु ।’

करणले आफूलाई प्रशिक्षक डेभ वाटमोरले समय लिएर खेल्न सुझाव दिनुभएको समेत खुलाए । ‘प्रशिक्षक डेभ वाटमोरले समय लिएर खेल भन्नुहुन्छ । अस्ति दोस्रो बलमै आउट भए । त्यसैले प्रशिक्षकले पाँच छ बल हेरेर खेल भन्नुहुन्छ । हिटिङ राम्रो र पावर छ, त्यसलाई उपयोग गर्न पाँच छ बल हेरेर खेल्न प्रशिक्षकको सुझाव छ,’ उनले भने ।

करणले विगतमा जस्ता अहिले बलिङ गर्न सहज नभएको समेत बताए ।

‘बलिङ गर्ने तरिका हल्का परिवर्तन गरेको छु । चोटबाट फर्केकाले बलिङमा आत्मविश्वास छ, तर पहिला जस्तो भइरहेको छैन । दौडिँदा दुख्छ । दुखाई खेल्दा खेल्दै निको हुने डाक्टरको भनाइ छ,’ उनले भने ।

नेपालको शानदार जित

त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल शीर्ष स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको छ ।

लिग चरणको अन्तिम खेलमा आज मलेसियालाई ६९ रनले हराउँदै नेपाल शीर्षमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।

नेपालले लिग चरणमा खेलेका चारमध्ये एक खेलमा मात्र हारको सामना गर्‍यो ।

नेपालले उपाधिका लागि शनिबार फाइनलमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको मलेसियाले १९.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ४८ रन मात्र बनाउन सक्यो ।

उसका लागि अनिमउद्दीन रेम्लीले ४१, कप्तान अहमद फैजले ३१, फित्री सामले १४, वीरन्दीप सिंहले १३ र मुहम्मद वाफिकले १२ रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा सोमपाल कामी, सन्दीप लामिछाने, कमलसिंह ऐरीले तीनरतीन र सुशान भारीले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २ सय १७ रन बनायो ।

उसका लागि करण केसीले १३ बलमा ७ छक्कासहित ४५ रन बनाए ।

त्यस्तै, आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दीपेन्द्रसिंह ऐरीले ३३, कुशल मल्लले अविजित १९ र कुशल भुर्तेलले १६ रन बनाए ।

बलिङमा सैयद अजीज, अनवर रहमान र फित्री सामले सर्वाधिक दुई/दुई विकेट लिए ।

करणले बनाए कीर्तिमान

मलेसियाविरुद्धको खेलमा अलराउन्डर करण केसीले नयाँ कीर्तिमान बनाएका छन् । उनले सर्वाधिक स्ट्राइक रेटमा ४० भन्दा बढी रन बनाउने कीर्तिमान बनाएका हुन् ।

उनले आज ४५ रन बनाए । त्यसक्रममा करणको स्ट्राइक रेट ३४६.१५ थियो ।

उनले अब नेपालको तर्फबाट यो प्रारूपमा सर्वाधिक स्ट्राइकमा ४५ रन बनाउने खेलाडीको कीर्तिमान बनाएका छन् ।

विश्व क्रिकेटमा करणको यो स्ट्राइक रेट नवौँ स्थानमा पर्छ । टी-२० अन्तर्राष्ट्रियमा सर्वाधिक बढी स्ट्राइक रेटमा ब्याटिङको कीर्तिमान वेष्ट इन्डिजका ड्वेन स्मिथको नाममा ।

उनले सो कीर्तिमान सन् २००७ मा बंगलादेशविरुद्ध हासिल गरेका थिए । स्थिमले सो खेलमा ७ बलमा ४१४.२८ को स्ट्राइक रेटमा २९ रन बनाएका थिए ।

टी-२० मा सर्वाधिक स्ट्राइक रेटमा ब्याटिङ गर्ने ब्याट्सम्यान :

Loading...