हैदराबादलाई ठूलो झड्का, महत्वपूर्ण खेलाडी आईपीएलबाट बाहिरिए

काठमाडौं- आईपीएलको टिम सनराइजर्स हैदराबादलाई ठूलो झड्का लागेको छ । टिमका महत्वपूर्ण बलर चोटका कारण बाहिरिएपछि हैदराबादलाई झड्का लागेको हो ।

टिमका तीव्र गतिका बलर टी नटराजन चोटका कारण आईपीएलबाट बाहिरिएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार घुँडाको चोटका कारण उनी आईपीएलबाट बाहिरिएका हुन् ।

नटराजनले ११ अप्रिलमा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध अन्तिम म्याच खेलेका थिए । उनी चोटकै कारण पछिल्ला दुई म्याचमा प्लेइङ-११ मा पनि समावेश थिएनन् ।

चोट निको हुन समय लाग्ने भएपछि नटराजनले आईपीएलका बाँकी म्याच गुमाउने छन् । उनी हैदराबादका महत्वपूर्ण बलरमध्येका एक हुन् ।

नटराजनको उत्कृष्ट प्रदर्शनका कारण गत सिजनमा हैदराबाद प्लेअफमा प्रवेश गरेको थियो । उनले हालसम्म आईपीएलमा २४ म्याच खेल्दा २० विकेट लिएका छन् ।

गत सिजनमा आईपीएलमा राम्रो प्रदर्शन गरेकै कारण नटराजनले भारतीय टिमबाट तिनै प्रारूपमा डेब्यूसमेत गरिसकेका छन् ।

Loading...