आरसीबी १० विकेटले विजयी, विराट र पाडिक्ककले रचे इतिहास

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) १० विकेटले विजयी भएको छ ।

राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य आरसीबीले १६.३ ओभरमा बिनाविकेट भेट्टायो । उसका लागि देवदत्त पाडिक्कलले शतकीय पारी खेले ।

उनले ५२ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०१ रन बनाए ।

योसँगै पाडिक्कले आरसीबीबाट कम उमेरमा शतक बनाउने ब्याट्सम्यानको कीर्तिमानसमेत बनाएका छन् । उनले २० वर्षको उमेरमा आईपीएलमा शतक बनाएका हुन् ।

त्यस्तै, कप्तान विराट कोहलीले ४७ बलमा ६ चौका र तीन छक्काको मद्दतमा नटआउट ७२ रनको पारी खेले ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनायो ।

उसका लागि शिवम दुबे र राहुल तेवटियाले उत्कृष्ट ब्याटिङ गरे ।

दुबेले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ४६ र तेवटियाले २३ बलमा चार चौका र दुई छक्काको मद्दतमा ४० रनको पारी खेले ।

त्यस्तै, रियान परागले २५, सञ्जु सामसनले २१ र क्रिस मोरिसले १० रन बनाए ।

बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा हर्षल पटेल, मोहम्मद सिराजले तीन/तीन, कायल जेमिसन, केन रिचडर्सन र वासिङ्टन सुन्दरले एक/एक विकेट लिए ।

आजको जितसँगै आरसीबी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले चार म्याच खेल्दा सबैमा जित हासिल गरेको छ ।

राजस्थानले भने चार म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

१६ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

विराटले रचे इतिहास

आरसीबीका कप्तान विराट कोहलीलले इतिहास रचेका छन् । उनले आईपीएलमा ६ हजार रन पूरा गर्दै इतिहास रचेका हुन् ।

विराट अब आईपीएलमा ६ हजार रन पूरा गर्ने पहिलो ब्याट्सम्यान बनेका छन् । विराटपछि आईपीएलमा सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा सुरेश रैना छन् ।

उनले हालसम्म १९७ म्याचमा ३९ अर्धशतक र एक शतकको साथ ५ हजार ४ सय ४८ रन बनाएका छन् ।

आईपीएलमा सर्वाधिक रन बनाउने मामलामा शिखर धवन तेस्रो र डेविड वार्नर चौथो स्थानमा छन् । शिखरले हालसम्म ५ हजार ४ सय २८ र वार्नरले ५ हजार ३ सय ८४ रन बनाएका छन् ।

यो सूचीको पाँचौ नम्बरमा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा छन् । उनले हालसम्म १९९ इनिङ्समा ५ हजार ३ सय ६८ रन बनाएका छन् । त्यसक्रममा ‘हिटम्यान’ले ३९ अर्धशतक र एक शतक बनाएका छन् ।

Loading...