फाइनलमा केछ नेपालको योजना? यस्तो भन्छन् कप्तान मल्ल

काठमाडौं- टी-२० त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनलमा भोलि (शनिबार) नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो १ः१५ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

लिग चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने नेपाल तीन विकेटले पराजित हुन पुग्यो ।

२ सय ७ रनको विशाल लक्ष्य दिँदा पनि नेपाल दोस्रो खेलमा पराजित भएको थियो । अघिल्लो खेलमा गरेका गल्तीलाई सुधार गर्दै नेपालले त्यहीअनुसार खेल्ने योजना बनाएको छ ।

यसैबीच, फाइनल म्याच खेल्नुअघि नेपाली टिम कप्तान ज्ञानेन्द्र मल्लले सञ्चारकर्मीसँग केही कुरा गरेका छन् ।

उनले फाइनलमा यसअघि भएका कमजोरीलाई सुधार गर्दै सिरिज जित्ने योजना बनाएको सुनाए ।

कप्तान मल्लले ब्याटिङमा अघिल्लो खेलकै लय कायम राख्दै बलिङमा डट बल र कम रन खर्चन ध्यान दिने बताए ।

उनले भने, ‘फाइनलमा जति सकिन्छ रन जोड्नमा ध्यान दिनुपर्नेछ । बलिङमा डट बल र रन कम खर्चने कोशिस गर्नुपर्छ । साथै, बाउन्ड्री कम दिने पक्षमा पनि ध्यान दिनु पर्नेछ ।’

कप्तान मल्लले फाइनलमा प्लेइङ-११ मा केही परिवर्तन हुने सम्भावना रहेकोसमेत बताए ।

‘फाइनल म्याचमा प्लेइङ-११ मा परिवर्तन हुन सक्छ,’ उनले भने, ‘प्लेइङ-११ परिवर्तनबारे हामी छलफल गर्नेछौँ, सामूहिक योजनाअनुसार फाइनल म्याच खेल्नेछौँ ।’

पछिल्ला पाँच खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपाल तीन खेलमा जित हासिल गरेको छ । एक खेल वर्षाले प्रभावित हुँदा एक खेलमा भने नेदरल्याण्ड्सले नेपाललाई हराएको छ ।

Loading...