पाकिस्तानविरुद्ध जिम्बाब्वेको ऐतिहासिक जित

काठमाडौं- पाकिस्तानसँगको टी-२० सिरिजको दोस्रो खेलमा जिम्बाब्वे १९ रनले विजयी भएको छ ।

अन्तर्राष्ट्रिय टी-२० मा जिम्बाब्वेले पहिलो पटक पाकिस्तानलाई हराएको हो । यसअघि खेलिएको १५ वटै खेलमा जिम्बाब्वेविरुद्ध पाकिस्तान विजयी भएको थियो ।

जिम्बाब्वेले दिएको १ सय १९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९।५ ओभरमा सबै विकेट गुमाएर ९९ रन मात्र बनाउन सक्यो ।

उसका लागि कप्तान बाबर आजमले ४१, दिनेश अजीजले २२ र मोहम्मद रिजवानले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा ल्यूक जोङ्गवेले उत्कृष्ट प्रदर्शन गरे ।

उनले ३.५ ओभरमा १८ रन दिएर चार विकेट लिए । त्यस्तै, रायन ब्रुलले दुई, ब्लेसिङ मुजाराबानी र रिचर्ड नगारावाले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको जिम्बाब्वेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनायो ।

उसका लागि तिनाशे कामुनहुकाम्वेले ३४, रेगिस चकाभाले १८ रन, मधिभीरेले १६ रन बनाए । बलिङमा दानिस अजिज र मोहम्मद हसनैनले सर्वाधिक दुई/दुई विकेट लिए ।

टी-२० मा हालसम्म जिम्बाब्वेविरुद्ध पाकिस्तान पराजित भएको थिएन ।

यो जितसँगै जिम्बाब्वेले तीन म्याचको सिरिज एक-एकको बराबरीमा ल्याएको छ ।

Loading...