नेपाल र नेदरल्याण्ड्सको फाइनल भोलि, यस्तो छ दुवैको सम्भावित-११

काठमाडौं- त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको फाइनलमा भोलि (शनिबार) नेपालले नेदरल्याण्ड्सको सामना गर्दैछ ।

नेपाल र नेदरल्याण्ड्सबीचको खेल दिउँसो १ः१५ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ ।

लिग चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने नेपाल तीन विकेटले पराजित हुन पुग्यो ।

२ सय ७ रनको विशाल लक्ष्य दिँदा पनि नेपाल दोस्रो खेलमा पराजित भएको थियो ।

अघिल्लो खेलमा गरेका गल्तीलाई सुधार गर्दै नेपालले त्यहीअनुसार खेल्ने योजना बनाएको छ ।

फाइनलमा नेपालको प्लेइङ-११ मा एक खेलाडी परिवर्तनको सम्भावना छ । नेपालले फाइनलमा कमलसिंह ऐरीको स्थानमा अविनाश बोहराले मौका पाउने सम्भावना छ ।

कमलले डेब्यूमा उत्कृष्ट प्रदर्शन गरे पनि फाइनलमा उनले मौका पाउने सम्भावना कम छ ।

यद्यपि, जारी सिरिजमा स्पिनर महँगा सावित भइरहेका छन् । फाइनलमा नेपालले स्पिनरको रूपमा सन्दीप लामिछानेलाई मात्र पनि खेलाउन सक्छ । त्यसो भएमा कमलले प्लेइङ-११ मा आफ्नो स्थान कायमै राख्न सक्छन् ।

टिम कप्तान ज्ञानेन्द्र मल्लले पनि फाइनल म्याचमा प्लेइङ-११ मा केही परिवर्तन हुन सक्ने बताएका छन् । ‘फाइनल म्याचमा प्लेइङ-११ मा परिवर्तन हुन सक्छ,’ उनले भने, ‘प्लेइङ-११ परिवर्तनबारे हामी छलफल गर्नेछौँ, सामूहिक योजनाअनुसार फाइनल म्याच खेल्नेछौँ ।’

नेपालको सम्भावित प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा र सुशन भारी/कमलसिंह ऐरी ।

नेदरल्याण्ड्सको सम्भावित प्लेइङ-११ : म्याक्स ओदाउद, टोबियस भिसे, स्कट इड्र्वास, बेन कपूर, बास डि लीडे, सेबास्टियान ब्राट, पिटर सीलार (कप्तान), पल भ्यान मेकिरेन, एन्टोनियस स्टाल, आर्यन दत्त र फिलिप बोइसेभ्यान ।

Loading...