पञ्जाबले पायो १३२ रनको लक्ष्य, रोहितले बनाए सर्वाधिक रन

काठमाडौं- १४औँ सिजनको आईपीएलअन्तर्गत १७औँ म्याचमा मुम्बई इण्डियन्सले पञ्जाब किंग्सलाई १ सय ३२ रनको लक्ष्य दिएको छ ।

चेन्नईमा भइरहेको खेलमा टस हारेर ब्याटिङको मौका पाएको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ३० रन बनायो ।

उसका लागि कप्तान रोहित शर्माले अर्धशतकीय पारी खेले । उनले ५२ बलमा पाँच चौका र दुई छक्कासहित ६३ रन बनाए ।

त्यस्तै, सूर्यकुमार यादवले ३३ र किरण पोलार्डले अविजित १६ रनको योगदान दिए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा मोहम्मद शामी, रवि विश्नोईले दुई/दुई, दीपक हूडा र अर्शदीप सिंहले एकएक विकेट लिए ।

पञ्जाबले प्लेइङ-११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । उसले मुर्गन आश्विनको स्थानमा रवि विश्नोईलाई मौका दिएको छ ।

मुम्बईले भने अघिल्लो खेलकै प्लेइङ-११ लाई निरन्तरता दिएको छ ।

जारी सिजनमा मुम्बईले चार म्याच खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । केएल राहुल नेतृत्वको पञ्जाबले भने चार म्याचमा एक खेलमा मात्र जित हासिल गरेको छ ।

हालसम्म आईपीएलमा मुम्बईले सर्वाधिक पाँच पटक उपाधि हात पार्दा पञ्जाबले भने उपाधि जित्न सकेको छैन । गत सिजन जस्तै यो पटक पनि पञ्जाबको खराब लय कायमै छ ।

पञ्जाबको प्लेइङ-११ : केएल राहुल (कप्तान/विकेटकीपर), मयंक अग्रवाल, क्रिस गेल, दीपक हूडा, निकोलश पूरन, शाहरुख खान, मोइसेस हेनरिक्स, फाबियन आलेन, मोहम्मद शामी, रवि बिश्नोई र अर्शदीप सिंह ।

मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, इशान किशन, किरण पोलार्ड, हार्दिक पाण्ड्या, कृणाल पाण्ड्या, जयन्त यादव, राहुल चहर, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

Loading...