नेपालद्वारा नेदरल्याण्ड्सलाई कीर्तिमानी लक्ष्य, बने विभिन्न रेकर्ड

काठमाडौं- घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा नेपालले नेदरल्याण्ड्सलाई २ सय ३९ रनको लक्ष्य दिएको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टिमलाई दिएको यो सर्वाधिक ठूलो लक्ष्य हो ।

यसअघि यो प्रारूपमा नेपालले भुटानलाई सर्वाधिक ठूलो लक्ष्य २३७ रनको लक्ष्य दिएको थियो ।

साथै, नेपालले यही सिरिजमा लगातार तीन म्याचमा दुई सयभन्दा बढीको लक्ष्य दिएको छ । नेपाली क्रिकेट इतिहासमा नेपाल टिमले लगातार तीन म्याचमा दुई सयभन्दा बढी रनको लक्ष्य दिएको पहिलो पटक हो ।

फाइनल खेलमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो ।

नेपालका लागि आज पनि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए ।

जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । योसँगै उनले डेब्यू सिरिजमै चार अर्धशतक बनाउने ब्याट्स्म्यानको कीर्तिमान समेत बनाएका छन् ।

त्यस्तै, कुशल मल्लले २४ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५० रनको योगदान दिए ।

कप्तान ज्ञानेन्द्र मल्ल ३३, आशिफ शेखले १६ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी ४८ .रनमा अविजित रहे ।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए ।

नेपालले प्लेइङ ११ मा आज एक खेलाडी परिवर्तन गरेको छ । नेपालले सुशान भारीको स्थानमा अविनाश बोहरालाई स्थान दिएको छ ।

समूह चरणको पहिलो खेलमा नेदरल्याण्ड्सलाई नेपालले ९ विकेटले हराएको थियो । नेदरल्याण्ड्ससँगको दोस्रो खेलमा भने नेपाल तीन विकेटले पराजित हुन पुग्यो ।

नेपालको प्लेइङ-११ : कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल (कप्तान), दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विनोद भण्डारी (विकेटकीपर), करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा र कमलसिंह ऐरी ।

Loading...