नेदरल्याण्ड्सविरुद्ध नेपालको ऐतिहासिक जित, बने कीर्तिमानै-कीर्तिमान

काठमाडौं- घरेलु मैदानमा भएको नेदरल्याण्ड्स र मलेसियासँगको त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपालले जितेको छ ।

घरेलु मैदानमा नेपालले जितेको यो पहिलो टी-२० सिरिज हो ।

सिरिजको फाइनलमा खेलमा नेपालले नेदरल्याण्ड्सलाई १ सय ४२ रनले पराजित गर्न सफल भयो । टी-२० मा नेपालले नेदरल्याण्ड्सलाई यति फराकिलो रनअन्तरले हराएको पहिलो पटक हो ।

फाइनलमा नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १७.२ ओभरमा सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो ।

उसका लागि सेबस्टियान ब्राटले २५, म्याक्स ओदाउदले २० र कप्तान पीटर सिलारले १३ रन बनाए । बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

बलिङमा करण केसीले तीन, सन्दीप लामिछाने, कमलसिंह ऐरीले दुई/दुई र अविनाश बोहराले विकेट लिए ।

तस्बिर : क्यान

त्यसअघि, त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३९ रन बनायो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले कुनै पनि टिमविरुद्ध बनाएको यो सर्वाधिक ठूलो स्कोर हो । यसअघि यो प्रारूपमा नेपालले भुटानलाई सर्वाधिक ठूलो २३७ रनको लक्ष्य दिएको थियो ।

साथै, नेपालले यही सिरिजमा लगातार तीन म्याचमा दुई सयभन्दा बढीको लक्ष्य दियो ।

नेपाल क्रिकेट इतिहासमा नेपालले लगातार तीन म्याचमा दुई सयभन्दा बढी रनको लक्ष्य दिएको पनि पहिलो पटक हो ।

फाइनलमा नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए ।

जारी सिरिजमा कुशलको यो चौथो अर्धशतक हो । योसँगै उनले डेब्यू सिरिजमै चार अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमानसमेत बनाएका छन् ।

त्यस्तै, कुशल मल्लले २४ बलमा दुई चौका र पाँच छक्कासहित अविजित ५० रनको योगदान दिए ।

कप्तान ज्ञानेन्द्र मल्ल ३३, आशिफ शेखले १६ रन बनाउँदा उपकप्तान दीपेन्द्रसिंह ऐरी ४८ रनमा अविजित रहे ।

बलिङमा फिलिप बोइसेभ्यानले दुई र सेबस्टियान ब्राटले एक विकेट लिए ।

Loading...