डेब्यू सिरिजमै चम्किँए कुशल, पछि परे भारतीय कप्तान कोहली!

काठमाडौं- सन् २०२१ मा टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा नेपालका कुशल भुर्तेल पाँचौ स्थानमा उक्लिएका छन् ।

नेदरल्यान्डविरुद्ध आज ७७ रन बनाएसँगै भारतका कप्तान विराट कोहलीलाई उछिनेर उनी पाँचौ स्थानमा उक्लिएका हुन् ।

कुशलले आज डेब्यू सिरिजमै चार अर्धशतक बनाउने ब्याट्सम्यानको कीर्तिमान पनि बनाएका छन् ।

यस सूचीमा पाकिस्तानका महोम्मद रिजवान पहिलो, न्यूजिल्यान्डका मार्टिन गुप्टिल दोस्रो, पाकिस्तानका बाबर आजम तेस्रो, न्यूजिल्यान्डका डेभन कोनवे चौथो, नेपालका कुशल भुर्तेल पाँचौ र भारतका विराट कोहली छैटौं स्थानमा छन् ।

यस वर्ष सर्वाधिक टी-२० रन बनाउने क्रममा महोम्मद रिजवानले ९ खेलमा ४ सय ३९ रन बनाएका हुन् । आठ खेल खेलेर मार्टिन गुप्टिलले ३ सय १८ रन बनाएका छन् ।

त्यसैगरी बाबर आजमले ९ खेलमा ३ सय २ रन बनाएका छन् ।

डेभन कनवेले ८ खेलमा ७ इनिङ्ग्स खेल्दै २ सय ९९ रन बनाएका छन् । भूर्तेलले अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ७९ रन बनाएका छन् ।

भारतका कप्तान कोहलीले यस वर्ष अहिलेसम्म खेलेका ५ वटा खेलमा २ सय ३१ रन बनाएका छन् ।

आईसीसीको शीर्ष १०० मा

आज सम्पन्न त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलामार्फत नै टी-२० डेब्यू गरेका भुर्तेल स्टार ब्याट्सम्यान बनिसकेका छन् ।

उनी टी-२० खेलमा डेब्यू सिरिजमै उत्कृष्ट प्रदर्शन गर्दै आईसीसीको शीर्ष १ सयभित्र पर्न सफल एक मात्रै नेपाली ब्याट्सम्यान हुन् ।

कुशलले खेलेका पाँच खेलमध्ये नेदरल्याण्ड्विरुद्धका तीन खेलमा क्रमश ६३, ६२ र ७७ रन तथा मलेसियाविरुद्धका दुुई खेलमा ६१ र १६ रन बनाए ।

Loading...