यी मुख्य ४ कारण : जसले गर्दा नेपालसँग हार्‍यो नेदरल्याण्ड्स

काठमाडौं- नेदरल्याण्ड्स टिम त्रिकोणात्मक टी-२० सिरिज जित्ने लक्ष्यका साथ नेपाल आएको थियो । सिरिज नजिते पनि नेदरल्याण्ड्स फाइनलमा भने पुग्न सफल भयो ।

सिरिजमा एक खेलमा कडा टक्कर दिएको नेदरल्याण्ड्सले नेपालसँगका बाँकी दुई खेलमा भने फराकिलो हार ब्यहोर्न बाध्य भयो ।

समूह चरणको पहिलो खेलमा नेपालविरुद्ध ९ विकेटले हारेको नेदरल्याण्ड्स फाइनलमा १४२ रनले पराजित भयो ।

फाइनलमा नेदरल्याण्ड्स हार्नुका मुख्य चार कारण :

१. खराब सुरुवात : नेदरल्याण्ड्सले फाइनलमा नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याउने क्रममा निकै खराब सुरुवात गर्‍यो । उसले दोस्रो ओभरमै पहिलो विकेट रनआउटको रूपमा गुमायो ।

सुस्त र खराब सुरुवात नै नेदरल्याण्ड्स हारको कारण बन्यो । उसले पावरप्ले (सुरुका ६ ओभर)मा ३७ रन बनाउँदा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो ।

२. नेपालको आक्रामक ब्याटिङ : नेपालले फाइनलमा पनि आक्रामक ब्याटिङ गर्‍यो । कुशल भुर्तेलको जोडीको रूपमा मैदानमा आएका आशिफ शेख १६ रनमै आउट भए ।

उनी आउट हुँदा पनि नेपालको रन गति रोकिएन ।

ओपनर कुशलले ५३ बलमा आठ चौका र तीन छक्कासहित ७७ रन बनाए । त्यस्तै, कुशल मल्लले २४ बलमा पाँच छक्का र दुई चौकाको मद्दतमा अविजित ५० रनको योगदान दिए ।

साथै, उपकप्तान दीपेन्द्र सिंह ऐरी र कप्तान ज्ञानेन्द्र मल्लले पनि विशाल लक्ष्य दिन आक्रामक पारी खेले ।

ऐरीले १८ बलको सामना गर्दा पाँच चौका र तीन छक्कासहित अविजित ४८ र ज्ञानेन्द्रले १९ बलमा दुई छक्का र तीन चौकाको सहयोगमा ३३ रन बनाए ।

ब्याट्सम्यानले नेपालका कुनै पनि बलरमाथि दबाब राख्न नसक्दा पनि नेदरल्याण्ड्स उपाधि जित्न चुक्यो ।

उसका महत्वपूर्ण बलर मानिएका पउलभान म्याकरेमले चार ओभरमा बिनाविकेट ४६ रन खर्चिए ।

३. आत्मविश्वास गुमाउनु : नेपालले दिएको २ सय ३९ रनको लक्ष्य पछ्याउन मैदान उत्रिएका नेदरल्याण्ड्सका कुनै पनि ब्याट्सम्यान लयमा देखिएनन् ।

उनीहरूलाई नेपाली बलरले पूरा दबाबमा राखे । जसकारण नेदरल्याण्ड्सका दुई ब्याट्सम्यान त ‘रनआउट’को सिकार हुन पुगे ।

ओपनर टोभिएस भिसे र अघिल्लो खेलमा नेपाललाई हराउन आक्रामक पारी खेलेका बासडी लिडे रनआउट भएका हुन् ।

क्यानडा ग्लोबल टी-२० लिगसमेत खेलिसकेका भिसे रन आउट हुँदा नेदरल्याण्ड्सको विकेट पतन रोकिएन । अघिल्लो खेलमा आक्रामक सुरुवात गरेको नेदरल्याण्ड्स आज त्यो लयमा देखिएन ।

४. नेपाली बलर चम्किँनु : नेदरल्याण्ड्स हार्नुको अर्को कारण नेपाली बलरको उत्कृष्ट प्रदर्शन पनि हो । फाइनलमा करण केसीले तीन ओभरमा ११ रन दिँदा महत्वपूर्ण तीन विकेट लिए ।

साथै, सन्दीप लामिछानेले पनि आज ठीकठाक प्रदर्शन गरे । उनले चार ओभरमा २६ रन खर्चदै दुई विकेट हात पारे ।

त्यस्तै, कमलसिंंह ऐरीले पनि लय कायमै राखे । उनले फाइनलमा नेदरल्याण्ड्सका दुई ब्याट्सम्यानलाई आउट गर्दा २२ रन मात्र खर्चिए ।

तीव्र गतिका बलर अविनाश बोहराले ३.२ ओभरमा २० रन दिँदा एक विकेट हात पारे । नेपाली बलरले सुरुवातदेखि नै नेदरल्याण्ड्सका ब्याट्सम्यानलाई पूरा दबाबमा राखेका थिए ।

Loading...