स्वदेश फर्किनुअघि यस्तो भन्छन् नेपाली क्रिकेटबारे डच कप्तान

काठमाडौं-  नेपाल र मलेसियासँगको त्रिकोणात्मक सिरिजमा नेदरल्याण्ड्स टिमले समग्रमा ठीकै प्रदर्शन गर्‍यो ।

उसले नेपालसँग फाइनलसहित दुई म्याच हार्दा मलेसियासँगका दुई म्याचमा जित हासिल गर्न सफल भयो ।

साथै, समूह चरणको नेपालसँगको दोस्रो खेलमा नेदरल्याण्ड्सले तीन विकेटको रोमाञ्चक जित निकालेको थियो ।

फाइनलमा भने नेदरल्याण्ड्सको प्रदर्शन अपेक्षाकृत आएन ।

त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालसँग नेदरल्याण्ड्स हालसम्मकै फराकिलो रनअन्तर (१४२ रन)ले पराजित भयो ।

सिरिज सकिएपछि नेदरल्याण्ड्स टिमका कप्तान पिटर सिलारले नेपाली टिमले विगतभन्दा प्रदर्शनमा निकै सुधार गरेको बताएका छन् ।

उनले सन् २०१९ मा विश्वकप छनोट हुन नसकेपछि नेपाली टिमको प्रदर्शनमा धेरै परिर्वतन आएको समेत बताए ।

‘सन् २०१९ को विश्वकप छनोटमा सफल नभएपछि जसरी नेपाली टिम आएको छ । त्यसपछि नेपालले टी-२० मा खेल्ने शैली नै परिवर्तन गरेको छ,’ कप्तान सिलारले भने, ‘यो कुरा मैले पहिलो खेल सकिएपछि पनि भनेको थिए । जुन शैलीले नेपाली खेलाडीले खेलिरहेका छन्, यो आश्चर्यजनक त मान्दिन । तर, उत्कृष्ट थियो ।’

कप्तान सिलारले नेपालले एसोसिएट राष्ट्रहरूको नयाँ स्तर निर्धारणसमेत गरेको बताए । ‘नेपालले एसोसिएट क्रिकेटमा टी-२० तर्फ नयाँ स्तर निधाएरण गरेको छ,’ उनले भने ।

साथै, कप्तान सिलारले नेपाली समर्थकको प्रशंसा गर्दै आगामी दिनमा पनि नेपाल भ्रमणमा आउनसमेत बताए ।

‘हामी नेपाल आएपछि यहाँ सबैको माया र सम्मान पायौँ । आयोजनाका हिसाबले सबै कुरा गज्जब देखियो । नेपालमा दर्शकबाट अन्तर्राष्ट्रिय क्रिकेटरले पाउनुपर्ने माया, समर्थन र सम्मान छ,’ उनले भने, ‘हामीले आशा गरेका छौँ । नेपालले पनि नेदरल्याण्ड्सको भ्रमण गर्नेछ । र, फेरि हामी पनि नेपालमा क्रिकेट खेल्न आउने छौँ ।’

Loading...