चेन्नईले दियो विशाल लक्ष्य, जडेजाले खेले उत्कृष्ट पारी!

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत १८औँ म्याचमा चेन्नई सुपर किंग्स (सीएसके) ले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई १ सय ९४ रनको लक्ष्य दिएको छ ।

मुम्बईको वाङ्खडे स्टेडियममा टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९३ रन बनायो ।

उसका लागि रवीन्द्र जडेजा र फाफ डुप्लेसिसले अर्धशतकीय पारी खेले ।

जडेजाले २८ बलमा पाँच छक्का र चार चौकासहित अविजित ६२ रनको पारी खेले । उनको यो आईपीएलको उच्च ब्याटिङ प्रदर्शन हो ।

त्यस्तै, डुप्लेसिसले ४१ बलमा १ छक्का र पाँच चौकाको मद्दतमा ५० रन बनाए ।

त्यस्तै, ऋतुराज गायकवाडले ३३, सुरेश रैनाले २४ र अम्बाती रायडूले १४ रन बनाए ।

बलिङमा हर्सल पटेलले तीन र युजवेन्द्र चहलले एक विकेट लिए ।

दुवै टिमले प्लेइङ-११ मा आज दुई/दुई खेलाडी परिवर्तन गरेका छन् । आरसीबीले शाहबाज अहमद र केन रिचर्डसनको स्थानमा नपदीप सैनी र ड्यान क्रिस्चियनलाई समावेश गरेको छ ।

सीएसकेले मोइन अली र लुंगी एनगीडीलाई विश्राम दिँदै ड्वेन ब्रावो र इमरान ताहिरलाई मौका दिएको छ । जारी सिजनमा आरसीबीले चार म्याच खेल्दा सबैमा जित हासिल गरेको छ । चेन्नईले चार म्याचमध्ये एक खेलमा हारको सामना गरेको छ ।

आरसीबीको प्लेइङ-११ : विराट कोहली (कप्तान), देवदत्त पाडिक्कल, ग्लेन म्याक्सवेल, एबी डिभिलियर्स (विकेटकीपर), ड्यान क्रिस्चियन, वाशिङ्टन सुन्दर, काइल जेमिसन, हर्षल पटेल, नपदीप सैनी, मोहम्मद सिराज र युजवेन्द्र चहल ।

चेन्नईको प्लेइङ-११ : ऋतुराज गायकवाड, फाफ डुप्लेसिस, ड्वेन ब्रावो, सुरेश रैना, अम्बाती रायडू, महेन्द्रसिंह धोनी (कप्तानरविकेटकीपर), रवीन्द्र जडेजा, साम करन, इमरान ताहिर, शार्दुल ठाकुर र दीपक चाहर ।

Loading...