यस्तो छ कीर्तिमानी कुशलको संघर्षपूर्ण क्रिकेट यात्रा

काठमाडौं- शनिबार सम्पन्न मलेसिया र नेदरल्याण्ड्सबीचको त्रिकोणात्मक टी-२० सिरिजमा नेपाली टिमका युवा ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गरे ।

उनले सिरिजमा चार अर्धशतक बनाए ।

यो कुशलको डेब्यू सिरिज हो । उनले डेब्यू सिरिजमै सर्वाधिक रन बनाए । नेपाललाई सिरिज जिताउन कुशलको भूमिका महत्वपूर्ण रह्यो ।

डेब्यू सिरिजमै कीर्तिमानी प्रदर्शन गरेपछि उनको चर्चा अहिले शिखरमा छ ।

कुशलको क्रिकेट यात्रा

सन् २०१२ मा कुशल नेपालको यू-१६ टोलीमा समावेश भए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो पाइला थियो ।

सोह्र वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि उनी मलेशियामा हुने एसीसी यू-१६ का लागि छानिएका थिए ।

तर, कुवेत विरुद्धको एक खेलपछि उनी अभ्यासको क्रममा घाइते भएर नेपाल फर्किनुपर्‍यो ।

चोटको फाइदा के भयो भने उनले आरामसँग एसएलसी परीक्षा दिन समय पाए ।

उनले क्रिकेटमा झन् मेहनत गर्न थाले । फलस्वरूप तीन वर्षपछि उनी यू-१९ राष्ट्रिय टोलीमा पर्न सफल भए ।

त्यो सन् २०१५ मा मलेशियामा भएको यू-१९ विश्वकप छनोट प्रतियोगिता थियो। त्यसबाट टोली विश्वकपका लागि छनोट भए ।

तर, उनले प्रतियोगिताभरि एउटा खेल पनि खेल्ने अवसर पाएनन् । बेन्चमै बसेर मलेशियाबाट फर्किनु पर्‍यो कुशल ।

सन् २०१६ बाङ्ग्लादेशमा भएको यू-१९ विश्वकपमा भने कुशलले न्यूजिल्याण्डविरुद्ध अविजित ३५ रनको पारी खेले।

त्यो बेला कुशल ७र८ नम्बरमा ब्याटिङ गर्थे ।

नेपाल क्वार्टर फाइनलमा बाङ्ग्लादेशसँग हारेर फर्किनु पर्‍यो ।

१६ वर्ष र १९ वर्षको राष्ट्रिय टोलीमा परेका खेलाडीको राष्ट्रिय टिमबाट खेल्नु स्वाभाविक सपना त हुने नै भयो ।

तर राष्ट्रिय टोलीमा प्रवेश पाउनु सहज विषय पनि थिएन ।

एक त नियमित घरेलु प्रतियोगिता थिएन भने राष्ट्रिय टिममा नपरेका खेलाडीका लागि त्यतिकै पनि अवसर निकै कम हुन्थ्यो ।

कुशलको हकमा राम्रो के भइदियो भने यू-१६ राष्ट्रिय टोलीमा परेपछि नै उनले नेपाल पुलिस क्लबमा खेल्ने मौका पाए ।

यसबीचमा उनले फ्रेञ्चाइज क्रिकेटमा आफूलाई व्यस्त बनाए ।

उनले एभरेस्ट प्रिमियर लीग इपीएल ललितपुरबाट, पोखरा प्रिमियर लिग पोखराबाट र धनगढी प्रिमियर लिग डीपीएल विराटनगरबाट खेले ।

पीपीएल खेल्दा कप्तान शरद भेषावकरले उनलाई प्रारम्भिक ब्याट्सम्यानको रूपमा अगाडि ल्याएका हुन् ।

यसबीच राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा उनलाई हरेक पटक बोलाइन्थ्यो। तर अन्तिम छनोटमा उनको नाम हुँदैनथ्यो ।

सन् २०१९ को इमर्जिङ कपमा उनी बल्ल टिममा परे । तर, राम्रो प्रदर्शन हुन सकेन ।

सोही साल नेपालमै भएको १३औँ दक्षिण एशियाली खेलकुदमा पनि टिममा परे । तर, एक खेल पनि खेल्ने मौका पाएनन् ।

Loading...