दिल्लीले हैदराबादलाई ‘सुपर ओभर’मा हरायो, पन्तले बनाए नयाँ कीर्तिमान

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध दिल्ली क्यापिटल्स ‘सुपर ओभर’मा विजयी भएको छ ।

‘सुपर ओभर’मा हैदराबादले दिएको ८ रनको लक्ष्य दिल्लीले अन्तिम बलमा भेट्टायो ।

त्यसअघि, दिल्लीले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा १५९ रन बनाएपछि खेल ‘सुपर ओभर’मा धकेलिएको थियो ।

उसका लागि केन विलियम्सनले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ८ चौकासहित अविजित ६६ रन बनाए ।

त्यस्तै, जोनि बेयरिस्टो ३८ ले, जगदिश सूचितले अविजित १५, केदार जाधवले ९, विजय शंकरले ८, कप्तान डेविड वार्नरले ६, अभिषेक शर्माले पाँच, विराट सिंहले चार रनको योगदान दिए ।

बलिङमा आवेश खानले तीन, अक्षर पटेलले दुई र अमित मिश्राले एक विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १ सय ५९ रन बनायो ।

उसका लागि पृथ्वी शाले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा सात चौका र एक छक्कासहित ५३ रन बनाए ।

त्यस्तै, कप्तान ऋषभ पन्तले ३७, स्टिभ स्मिथले अविजित ३४, शिखर धवनले २८, मार्कस स्टोइनिसले नटआउट दुई र शिमरोन हेटमायरले एक रनको योगदान दिए ।

बलिङमा सिद्धार्थ कौलले दुई र राशिद खानले एक विकेट लिए ।

पन्तले बनाए दिल्लीका लागि कीर्तिमान

ऋषभ पन्त दिल्ली क्यापिटल्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान बनेका छन् ।

आइतबार हैदराबादविरुद्ध ३७ रन बनाएसँगै उनले यो उपलब्धि हासिल गरेका हुन् ।

योसँगै पन्तले दिल्लीका लागि २ हजार २ सय ४ रन बनाएका छन् । उनले वीरेन्द्र सहवाग र श्रेयस अय्यरलाई पछि पारेका छन् ।

सहवागले दिल्लीका लागि २ हजार १७४ र अय्यरले २ हजार २ सय रन बनाएका छन् ।

अब यी दुई स्टारलाई पछि पार्दै पन्त शीर्ष स्थानमा उक्लिएका छन् ।

आजको जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले पाँचमध्ये एक खेलमा मात्र हारको सामना गरेको छ ।

हैदराबादले भने पाँचमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।

यस्तो बन्यो अंक तालिका :

Loading...