आईपीएलको बीचमै घर फर्किए दिल्लीका महत्वपूर्ण खेलाडी

काठमाडौं- दिल्ली क्यापिटल्सका स्पिनर रविचन्द्रन आश्विनले भारतमा जारी १४औँ सिजनको आईपीएलका बाँकी म्याच नखेल्ने भएका छन् ।

परिवार कोरोना भाइरस (कोभिड-१९) सँग जुधिरहेकाले उनले आईपीएलका बाँकी म्याच नखेल्ने भएका हुन् ।

आश्विनले संकटको अवस्थामा परिवारलाई सहयोगका लागि आफूले आईपीएल २०२१ का बाँकी म्याच नखेल्ने बताए ।

‘म यो वर्षको आईपीएलबाट विश्राम लिएको छु । मेरो परिवार कोभिड-१९ सँग लडिरहेको छ,’ आश्व्निले ट्विट गरेका छन्, ‘यो कठिन समयमा म परिवारलाई सहयोग गर्न चाहन्छु । अवस्था राम्रो भएमा म फेरि पनि म्याच खेल्नका लागि टिममा फर्किने छु । दिल्ली क्यापिटल्सलाई म धन्यवाद दिन चाहन्छु ।

आश्विन जारी आईपीएलमा लयमा देखिएका थिएनन् । उनले पाँचमा ७.७३ को इकोनमीमा १४७ रन दिएर एक विकेट मात्र हात पारेका थिए ।

गएराति सम्पन्न सनराइजर्स हैदराबादसँगको म्याच खेल्दै आश्विन घर फर्किएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

चेन्नईपछि अब दिल्लीले अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा म्याच खेल्ने छ ।

दिल्लीले आफ्नो छैटौँ म्याच २७ अप्रिलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध खेल्नेछ । दिल्लीले पाँच म्याच खेल्दा चारमा जित र एक खेलमा मात्र हारको सामना गरेको छ ।

दिल्ली गत सिजनको उपविजेता पनि हो । यो पटक पनि दिल्लीलाई उपाधि दाबेदार टिमको रूपमा हेरिएको छ ।

Loading...