एशोसिएट राष्ट्रबीच टेष्ट खेल्ने नीतिमाथि छलफल गर्दै आईसीसी

बलिया राष्ट्रसँग प्रतियोगिता खेल्न आतुर छौँ : कप्तान मल्ल

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले एशोसिएट राष्ट्रबीच टेष्ट खेल्ने नीतिमाथि छलफल सुरू गरेको छ ।

एशोसिएट राष्ट्रको क्रिकेटको तीव्र विकासका लागि यो विषयमा छलफल सुरू गरेको हो ।

आईसीसीले एशोसिएट राष्ट्रबीच टेष्ट खेल्ने नीतिमाथि छलफल गरेसँगै नेपाली राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लले पनि यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले एशोसिएट राष्ट्रबीच टेष्ट खेल्ने नीतिमाथि छलफल गरिरहेको सन्दर्भमा अन्तर्राष्ट्रिय एकदिवसीय र ‘ए’ श्रेणीको क्रिकेटका लागि घरेलु पूर्वाधार र लिगको व्यवस्था गर्नुपर्ने बताए ।

‘आईसीसीको बहस स्वागत योग्य छ । तर, हामी पाँच दिनसम्म खेल्न सक्छौँ या छैनौँ, त्यो पनि हेर्नुपर्ने हुन्छ, यसका लागि घरेलु स्तरमा त्यस प्रकारको क्षमता विकास गरिनु जरुरी छ,’ कप्तान मल्लले भने ।

त्यस्तै, कप्तान मल्लले नेपालभन्दा बलिया राष्ट्रसँग अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न आतुर रहेकोसमेत बताएका छन् ।

उनले बलिया राष्ट्रसँग खेल्दा टोलीको प्रदर्शनको स्तर सुध्रिनुका साथै सिक्ने पर्याप्त अवसरसमेत पाउने बताए ।

नेपालले मलेसिया र नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको उपाधि जितेपछि सञ्चारकर्मीसँगको अन्तवार्ता दिँदै उनले सानासाना गल्तीलाई सुधार्दै जाँदा नेपाल हालको अवस्थासम्म पुगेको खुलाए ।

‘कुनै एक तत्व मात्रै निर्णायक नभई समग्र टोलीको स-साना गल्तीलाई सुधार्दै जाँदा प्राप्त भएको परिणाम हो यो,’ उनले बताए ।

Loading...