कुशल भुर्तेल : जसले क्रिकेटका लागि परीक्षा छोडेका थिए!

काठमाडौं- बुटवल मणिग्रामका कुशल भुर्तेल बुवा दीपक र आमा दुर्गाका दोस्रो सन्तान हुन् ।

उनका एक दिदी र एक बहिनी छन् ।

कुशल स्कूलदेखि नै खेलकुदप्रेमी थिए । स्कूलमा हरेक खेलमा रुचि राख्थे।

खेलकुदमा हुरुक्क हुने कुशलको बानी थियो ।

“फुटबल बढी मन पर्थ्यो, तर बुवाले क्रिकेटमा लाग्न भनेपछि क्रिकेट रोजेँ” कुशल सम्झिन्छन्।

बुवा दीपक त्यति बेला दक्षिण कोरियामा बस्थे । उनी सन् २०११ मा नेपाल फर्किए।

एक दिन उनले छोराले क्रिकेट खेलेको देखे ।

त्यो पल सम्झिँदै दीपक भन्छन्, “ऊ यति राम्रोसँग खेलिरहेको थियो कि मलाई लाग्यो यसले क्रिकेटमा राम्रो गर्न सक्छ। अनि मैले क्रिकेट रोज्न भनेँ ।”

कुशल क्रिकेटमा केन्द्रित भए ।

छोरामा आफ्नो सपना

गाउँ ठाउँमा हुने प्रतियोगितामा नियमित सहभागी हुन थाले ।

खासमा दीपक पनि आफ्नो समयका क्रिकेट खेलाडी थिए ।

पैँतालीस वर्षका उनले पूर्वकप्तान राजु खड्कासँगै क्रिकेट खेलेका थिए ।

उनी भन्छन्, “तर म बेलैमा घर व्यवहारतिर लागेँ । खेल्न पाइनँ । छोरोमा त्यो सपना देख्न थाले ।”

व्यापारका लागि दिल्ली जाँदा हरेक पटक छोराको लागि ब्याट किनेर ल्याउँथे ।

धनगढीमा नेपाल प्रिमियर लीग एनपीएल र कुशलको ११ कक्षाको परीक्षा एकै समयमा पर्‍यो ।

कुशल सम्झिन्छन्, ” बुवाले मलाई परीक्षा भनेको आउँदै गर्छ, तिमी एनपीएल खेल भन्नुभयो। बाबुको यस्तो साथ पाउने भाग्यमानी छोरा हुँ म ।”

दीपक क्रिकेट मोह छोराका लागि र आफ्नो क्षेत्रको लागि भएको बताउँछन् ।

उनले रूपन्देहीमा थुप्रै क्रिकेट प्रतियोगिताको आयोजना गरेका छन् ।

दीपकले आफ्नो संस्था न्यू युनिभर्सल कम्प्युटर इन्स्टिच्यूटको नाममा प्रतियोगिता आयोजना गर्थे र छोराले त्यही क्लबबाट खेल्थे ।

पछिल्लो समय उनी तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष भएका छन् ।

सो समितिले तिलोत्तमा प्रिमियर लीग टीपीएलको तीन संस्करणको आयोजना गरिसकेको छ ।

छोरा कुशल त्यसका नियमित खेलाडी हुन् ।

क्रिकेट यात्रा

सन् २०१२ मा कुशल नेपालको यू १६ टोलीमा समावेश भए । अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो पाइला थियो ।

सोह्र वर्षमुनिको राष्ट्रिय प्रतियोगितामा प्रभावशाली प्रदर्शन गरेपछि उनी मलेशियामा हुने एसीसी यू-१६ का लागि छानिएका थिए ।

तर कुवेत विरुद्धको एक खेलपछि उनी अभ्यासको क्रममा घाइते भएर नेपाल फर्किनुपर्‍यो ।

चोटको फाइदा के भयो भने उनले आरामसँग एसएलसी परीक्षा दिन समय पाए ।

उनले क्रिकेटमा झन् मेहनत गर्न थाले । फलस्वरूप तीन वर्षपछि उनी यू-१९ राष्ट्रिय टोलीमा पर्न सफल भए ।

त्यो सन् २०१५ मा मलेशियामा भएको यू-१९ विश्वकप छनोट प्रतियोगिता थियो। त्यसबाट टोली विश्वकपका लागि छनोट भए ।

तर उनले प्रतियोगिताभरि एउटा खेल पनि खेल्ने अवसर पाएनन् । बेन्चमै बसेर मलेशियाबाट फर्किनु पर्‍यो कुशल ।

सन् २०१६ बाङ्ग्लादेशमा भएको यू-१९ विश्वकपमा भने कुशलले न्युजिल्याण्डविरुद्ध अविजित ३५ रनको पारी खेले ।

त्यो बेला कुशल ७/८ नम्बरमा ब्याटिङ गर्थे ।

नेपाल क्वार्टर फाइनलमा बाङ्ग्लादेशसँग हारेर फर्किनु पर्‍यो । -बीबीसी नेपालबाट

Loading...