डिभिलियर्स र म्याक्सवेलले बनाए कीर्तिमान, दिल्लीले पायो बलियो लक्ष्य

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको २२औँ खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले दिल्ली क्यापिटल्सलाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि एबी डिभिलियर्सले अर्धशतकीय पारी खेले । उनले ४२ बलमा पाँच छक्का र तीन चौकासहित अविजित ७५ रन बनाए ।

योसँगै डिभिलियर्सले कम बल खेल्दै आईपीएल इतिहासमा सर्वाधिक छिटो पाँच हजार रन पूरा गर्ने ब्याट्सम्यानको कीर्तिमान पनि बनाएका छन् ।

त्यस्तै, रजद पाटिदारले ३१, ग्लेन म्याक्सवेलले २५, देवदत्त पाडिक्कले १७ र विराट कोहलीले १२ रनको योगदान दिए ।

बलिङमा अक्षर पटेल, अमित मिश्रा, इशान्त शर्मा, आवेश खान र कागिसो रबाडाले एक/एक विकेट लिए ।

म्याक्सवेलले हासिल गरे महत्वपूर्ण उपलब्धि

आरसीबीका ब्याट्सम्यान ग्लेन म्याक्सवेलले महत्वपूर्ण उपलब्धि हासिल गरेका छन् । उनले आईपीएलका १ सय छक्का हिर्काउने उपलब्धि हासिल गरेका हुन् ।

आज दिल्ली क्यापिटल्सविरुद्ध दुई छक्का प्रहार गरेसँगै आईपीएलमा म्याक्सवेलले एक सय छक्का पूरा गरे ।
हालसम्म आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान क्रिस गेलको नाममा छ ।

उनले अहिलेसम्म सर्वाधिक ३ सय ५४ छक्का प्रहार गरेका छन् । यो सूचीको दोस्रो स्थानमा एबी डिभिलियर्सको नाम आउँछ ।

डिभिलियर्सले हालसम्म २ सय ४५ छक्का हिर्काएका छन् ।

आईपीएलमा सर्वाधिक छक्का प्रहार गर्ने मामलामा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा तेस्रो स्थानमा छन् ।

उनले हालसम्म २ सय २२ छक्का हिर्काएका छन् ।

Loading...