कुशलको टी-२० वरियतामा सुधार, पछि परे पन्तसहित कयौँ चर्चित खेलाडी

काठमाडौं- नेपाली क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले आईसीसी टी-२० वरियतामा व्यापक सुधार गरेका छन् ।

आईसीसीले आज सार्वजनिक गरेको वरियतामा कुशलले एकै पटक ३२ स्थान सुधार गरेका हुन् ।

यसअघि ९३औँ स्थानमा रहेको कुशल नयाँ वरियतामा ६१औँ स्थानमा उक्लिएका छन् । उनले हालै सम्पन्न नेदरल्याण्ड्स, मलेसिया र नेपालबीचको त्रिकोणात्मक सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

सो सिरिजमा कुशलले चार अर्धशतक बनाएका थिए । उनले तीन अर्धशतक लगातार बनाएका थिए ।

कुशलभन्दा पछि ऋषभ पन्त, स्टिभ स्मिथ, शाकिवअल हसन, मुस्फीकुर रहमान, थिसरा परेरा, रस टेलर, कुशल मेन्डिसलगायत नाम चलेका खेलाडी छन् ।

त्यस्तै, नयाँ वरियतामा नेपाली टिम कप्तान ज्ञानेन्द्र मल्ल पनि टप-१०० भित्र समावेश भएका छन् । उनी नयाँ वरियताको ९४औँ स्थानमा छन् ।

त्यस्तै, पूर्वकप्तान पारस खड्का नयाँ वरियतामा ८८औँ स्थानमा छन् ।

आईसीसीले आज सार्वजनिक गरेको वरियतामा इंग्ल्याण्डका डेविड मलान शीर्ष स्थानमा कायमै छन् ।

उनीपछि दोस्रोमा आरोन फिन्च, तेस्रोमा बाबर आजम र चौथोमा डेभन कोनवे छन् ।

Loading...