वार्नरले रचे इतिहास, बने यो ‘कीर्तिमान’ हासिल गर्ने एक्ला खेलाडी

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको २३औँ खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्स (सीएसके)लाई १ सय ७२ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि कप्तान डेविड वार्नर र मनिष पाण्डेले अर्धशतकीय पारी खेले ।

वार्नरले ५५ बलमा दुई छक्का र तीन चौकासहित ५७ र पाण्डेले ४६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ६१ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङमा आएका केन विलियम्सनले आक्रामक ब्याटिङ गरे । उनले १० बलमा चार चौका र एक छक्कासहित अविजित २६ रनको योगदान दिए ।

केदार जाधव १२ रनमा अविजित रहँदा जोनी बेयरिस्टो भने सात रनमै आउट भए । बलिङमा लुंगि एनगिडीले दुई र साम करनले एक विकेट लिए ।

जारी सिजनमा चेन्नईले पाँच म्याच खेल्दा एक खेलमा मात्र हारको सामना गरेको छ । हैदराबादले भने पाँच मध्ये एक खेलमा मात्र जित हासिल गरेको छ ।

वार्नरले रचे इतिहास

सनराइजर्स हैदराबादका कप्तान डेविड वार्नरले आईपीएलमा इतिहास रचेका छन् । उनले आईपीएलमा सर्वाधिक बढी अर्धशतक बनाउने कीर्तिमान बनाएका हुन् ।

वार्नरले आईपीएमा आज ५० औँ अर्धशतक पूरा गरे । आईपीएल इतिहासमा ५० अर्धशतक बनाउने उनी एक्ला ब्याट्सम्यान हुन् ।

आईपीएलमा सर्वाधिक अर्धशतक बनाउने मामलामा दिल्ली क्यापिटल्सका शिखर धवन दोस्रो स्थानमा छन् । उनले हालसम्म ४३ अर्धशतक बनाएका छन् ।

यो सूचीको तेस्रो स्थानमा आरसीबीका कप्तान विराट कोहली र मुम्बई इण्डियन्सका कप्तान रोहित शर्मा छन् । उनीहरूले हालसम्म ४०/४० अर्धशतक बनाएका छन् ।

Loading...