आईपीएलमा चेन्नईको लगातार पाँचौ जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध चेन्नई सुपर किंग्स (सीएसके) ७ विकेटले विजयी भएको छ ।

हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

उसका लागि ऋतुराज गायकवाडले उत्कृष्ट इनिङ्स खेले । उनले ४४ बलमा १२ चौकासहित ७५ रन बनाए ।

अर्का ओपनर फाफ डुप्लेसिसले ३८ बलमा एक छक्का र ६ चौकाको मद्दतमा ५६ रनको पारी खेले ।

त्यस्तै, मोइन अलीले १५, सुरेश रैनाले १७ र रवीन्द्र जडेजाले अविजित सात रनको योगदान दिए ।

बलिङमा राशिद खानले तीन ओभरमा ३६ रन दिएर तीन विकेट लिए । बाँकी बलरले भने विकेट हात पार्न सकेनन् ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १ सय ७१ रन बनायो ।

उसका लागि कप्तान डेविड वार्नर र मनिष पाण्डेले अर्धशतकीय पारी खेले ।

वार्नरले ५५ बलमा दुई छक्का र तीन चौकासहित ५७ र पाण्डेले ४६ बलमा पाँच चौका र एक छक्काको मद्दतमा ६१ रन बनाए ।

चौथो नम्बरमा ब्याटिङमा आएका केन विलियम्सनले आक्रामक ब्याटिङ गरे । उनले १० बलमा चार चौका र एक छक्कासहित अविजित २६ रनको योगदान दिए ।

केदार जाधव १२ रनमा अविजित रहँदा जोनी बेयरिस्टो भने सात रनमै आउट भए । बलिङमा लुंगि एनगिडीले दुई र साम करनले एक विकेट लिए ।

आजको जितसँगै चेन्नई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले ६ म्याचमा पाँचमा जित र एक खेलमा हारको सामना गरेको छ ।

हैदराबादले भने ६ म्याचमध्ये एक खेलमा मात्र जित हासिल गरेको छ । डेविड वार्नर नेतृत्वको हैदराबाद २२ म्याच सकिँदा पुछारमा छ ।

२२ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

Loading...