गेलको नजरमा यी हुन् टी-२० का उत्कृष्ट तीन खेलाडी

काठमाडौं– वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले वर्तमान टी-२० क्रिकेटमा आफूलाई मनपर्ने तीन खेलाडीको नाम बताएका छन् ।

ईएसपीएनले इन्स्टाग्राममा सोधेको प्रश्नमा उनले टी-२० क्रिकेटमा शीर्ष तीन खेलाडीको नाम बताएका हुन् ।

गेलले वेष्ट इण्डिजका दुई र भारतका एक खेलाडीले वर्तमान क्रिकेटमा आफूलाई ज्यादै प्रभावित पारेका बताए ।

गेलले भारतका रोहित शर्मा, वेष्ट इण्डिजका आन्द्रे रसेल र निकोलश पूरन अहिलेका टप-३ टी-२० प्लेयर भएको बताए । टी-२० अन्तर्राष्ट्रियको कुरा गर्दा रोहित सर्वाधिक रन बनाउने सूचीको दोस्रो स्थानमा छन् ।

उनले हालसम्म १०८ टी-२० अन्तर्राष्ट्रिय म्याचमा २ हजार ७७३ रन बनाएका छन् । जसमा उनले चार शतकसमेत बनाइसकेका छन् । टी-२० मा सर्वाधिक शतक बनाउने उनी एक्ला खेलाडी हुन् ।

आन्द्रे रसेलले पनि टी-२० क्रिकेटका स्टार खेलाडी हन् । उनले हालसम्म अन्तर्राष्ट्रिय टी-२० मा ४९ म्याच खेलेका छन् । जसमा उनले १५१.२६ को स्ट्राइक रेटमा ५ सय ४० रन बनाएका छन् ।

आईपीएलमा भने आन्द्रे १८२.३३ को स्ट्राइक रेटमा ब्याटिङ गर्छन् । हालसम्म आईपीएलमा उनले १२९ छक्का र १०५ चौका हिर्काएका छन् ।

त्यस्तै, गेलले टप-३ मा राखेका युवा विकेटकीपर/ब्याट्सम्यान निकोलश पूरन वर्तमान टी-२० क्रिकेटका आक्रामक ब्याट्सम्यानमध्ये एक हुन् । उनले वेष्ट इण्डिजका लागि २१ टी-२० इनिङ्समा दुई अर्धशतकको साथ ३६१ रन बनाएका छन् ।

पूरनले आईपीएलमा १६५ बढीको स्ट्राइक रेटका साथ ब्याटिङ गर्छन् । गेलले आफूलाई छक्का हिर्काउन मनपर्ने क्रिकेट स्टेडियमको बारेमा पनि बताएका छन् । उनले बैंग्लोरको चिन्नास्वीमा स्टेडियममा छक्का प्रहार गर्न मनपर्ने गरेको बताए ।

गेलले आईपीएलमा आरसीबीबाट केही सिजन खेलेका थिए । चिन्नास्वामी स्टेडियममा उनले तीन शतक र आठ अर्धशतकको मद्दतमा १ हजार ५६१ रन बनाएका छन् ।

Loading...