दिल्लीको फराकिलो जित, पृथ्वीले रचे इतिहास

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध दिल्ली क्यापिटल्स ७ विकेटले विजयी भएको छ ।

केकेआरले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६.३ ओभरमा तीन विकेट गुमाएर भेट्टायो ।

उसका लागि पृथ्वी शाले शानदार पारी खेले । उनले ४१ बलमा ११ चौका र तीन छक्कासहित ८२ रन बनाए ।

त्यस्तै, शिखर धवनले ४६, कप्तान ऋषभ पन्तले १६ र मार्कस स्टोइनिसले अविजित ६ रनको योगदान दिए ।
बलिङमा प्याट कमिन्सले तीन विकेट लिए ।

त्यसअघि, अहमदबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो ।

उसका लागि छैटौँ नम्बरमा ब्याटिङका आएका अलराउन्डर आन्द्रे रसेलले आक्रामक पारी खेले । उनले २७ बलमा दुई चौका र चार छक्कासहित नटआउट ४५ रन बनाए ।

रसेलको आज जन्मदिन पनि हो ।

शुभमन गिलले ४१, राहुल त्रिपाटीले १९, नीतिश राणाले १५, दिनेश कार्तिकले १४, प्याट कमिन्सले अविजित ११ रनको योगदान दिए ।

बलिङमा ललित यादव, अक्षर पटेलले दुई/दुई, आवेश खान र मार्कस स्टोइनिसले एक/एक विकेट लिए ।

पृथ्वीले रचे इतिहास

दिल्लीका ओपनर पृथ्वी शाले इतिहास रचेका छन् । केकेआरविरुद्ध एकै ओभरमा लगातार ६ बलमा ६ चौका प्रहार गर्दै इतिहास रचेका हुन् ।

पृथ्वी अब दिल्लीका लागि आईपीएलमा ६ बलमा ६ चौका हिर्काउने एक मात्र ब्याट्सम्यान बनेका छन् । उनले तीव्र गतिका बलर शिवम मावीको ओभरमा लगातार ६ चौका हिर्काए ।

उनले इनिङ्सको पहिलो ओभरमै ६ चौका प्रहार गरेका थिए ।

आईपीएलमा एक ओभरमा लगातार ६ चौका हिर्काउने पहिलो ब्याट्सम्यान भने अजिंक्य रहाणे हुन् । उनले सन् २०१२ मा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)विरुद्ध ६ बलमा ६ चौका हिर्काएका थिए ।

आजको जितसँगै दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । उसले ७ म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ ।

केकेआरले भने सात म्याच खेल्दा दुई म्याचमा मात्र जित हासिल गरेको छ ।

२५ म्याच सकिँदा यस्तो बन्यो अंक तालिका :

Loading...