‘सन्दीपले पीएसएल खेल्ने पक्का भइसकेको छैन’

काठमाडौं- पाकिस्तानमा अहिले छैटौँ सिजनको पाकिस्तान सुपर लिग (पीएसएल) जारी छ । लिगको पाँच म्याच सकिँदा केही महत्वपूर्ण खेलाडी स्वदेश फर्किसकेका छन् ।

स्वदेश फर्किनेमा क्वेटा ग्लाडियटर्सबाट पीएसएल खेलिरहेका क्रिस गेल र लाहोर कलन्दर्सका राशिद खान रहेका छन् । गेल श्रीलंकासँगको टी-२० सिरिजका लागि स्वदेश फर्किएको बताइएको छ ।

राशिदले भने २ मार्चदेखि सुरु हुने जिम्बाब्वेसँगको टेष्ट सिरिजका कारण बीचमै पीएसएल छोडेका हुन् । क्वेटा र लाहोरले गेल र राशिदको स्थानमा नयाँ खेलाडी भित्र्याउने सम्भावना छ ।

सामाजिक सञ्जालमा राशिदको स्थानमा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई भित्र्याएको भनेर चर्चासमेत भइसकेको छ ।

के लाहोरले सन्दीपलाई राशिदको स्थानमा अनुबन्ध गरेको हो? यो प्रश्नको जवाफमा सन्दीपका व्यवस्थापक रमन सिवाकोटीले भने ‘यो कुरा हल्ला मात्र’ भएको बताए ।

यद्यपि खेल्ने पक्का नभए पनि टिमसँग कुरा भने जारी रहेको उनले बताए । ‘राशिदको स्थानमा सन्दीप अनुबन्ध भइसकेको भन्ने कुरा हल्ला मात्र हो,’ सिवाकोटीले क्रिकेटपाटीसँग भने, ‘यद्यपि प्रोसेस भने जारी छ, केही दिनमा यथार्थ केहो बाहिर आइहाल्छ ।’

सन्दीपले २०१९ को पीएसएलमा लाहोरबाट खेलेका थिए । सो सिजनमा उनले सात खेलमा ११ विकेट लिएका थिए । सोही सिजनमा सन्दीपले एक म्याचमा चार ओभरमा १० रन खर्चेर चार विकेट लिएका थिए ।

डेब्यू सिजनमा उत्कृष्ट प्रदर्शनका बाबजुद पनि त्यसयताका दुई संस्करणको ड्राफ्टमा भने सन्दीपलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् । जारी पीएसएल संस्करणमा पनि ६ टिमले प्रतिस्पर्धा गर्दैछन् ।

Loading...