आईपीएल खेल्नेबारे यस्तो भन्छन् कुशल भुर्तेल

काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान कुशल भुर्तेलले हालै सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरे ।

उनले सिरिजका पाँच म्याचमा चार अर्धशतक बनाए ।

कुशलले डेब्यू सिरिजमै लगातार तीन अर्धशतक बनाउँदै कीर्तिमानसमेत बनाए । नेपाललाई सिरिज जिताउन उनको योगदान महत्वपूर्ण रह्यो ।

भारतीय एक टेलिभिजनले कुशल यसअघि आईपीएलको मुम्बई इण्डियन्समा जोडिएको झुट प्रचार गरे पनि हालसम्म उनले आईपीएलको अक्सनमा समेत नाम दर्ता गरेका छैनन् ।

कुशलले तत्काल आफू विदेशी लिगको कुनै सपना नदेखेको बताए । बरू आफूले जति सकिन्छ आफ्नो देश र नेपाली दर्शक समर्थकलाई खुसी बनाउने बताए ।

‘आईपीएललगायत विदेशी फ्रेन्चजाइज लिगको अहिले सपना देखेको छैन । आफ्नो देशबाट राम्रो गर्ने नै मेरो मुख्य लक्ष्य छ,’ एक टेलिभिजनको अन्तर्वार्ताका क्रममा कुशलले भने, ‘भर्खरै मेरो क्रिकेट यात्रा सुरू भएको छ । अहिले लिगको बारेमा सोचेको छैन । बरु देशको क्रिकेट बारेमा सोचेको छु र यहाँका जनतालाई खुसी बनाउनेमा मेरो ध्यान छ ।’

कुशलले नेपाल क्रिकेट टिम आउँदो विश्वकपमा छनोट हुने तरिकाले नै तयारी गरिरहेको समेत सुनाए ।

डेब्यू सिरिजमै उत्कृष्ट प्रदर्शन गरेपछि उनले आईसीसी टी-२० वरियतामा पनि व्यापक सुधार गरेका छन् ।

आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा कुशल ६३औँ स्थानमा उक्लिएका छन् ।

उनले ११ वैशाखमा सम्पन्न सिरिजमा पाँच म्याचमा चार अर्धशतकसहित सर्वाधिक २ सय ७८ रन बनाए ।

त्यसक्रमा कुशलको स्ट्राइक रेट १४०.४० थियो ।

Loading...