यी तीन युवा खेलाडी : जो राष्ट्रिय टिमको कप्तान बन्न सक्छन्

काठमाडौं- हालै घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी-२० सिरिजपछि नेपाली क्रिकेटमा पुस्ता हस्तान्तरणको चर्चा पनि व्यापक छ ।

युवा खेलाडीको उत्कृष्ट प्रदर्शनका कारण पनि यो सिरिजपछि यस्तो चर्चा सुरू भएको हो ।

तस्बिर : कान्तिपुर

टिमका महत्वपूर्ण ब्याट्सम्यान अर्थात् ‘वान म्यान आर्मी’को उपनामसमेत पाएका पूर्वकप्तान पारस खड्काले चोटका कारण त्रिकोणात्मक सिरिज खेलेनन् ।

धेरैले उनको अभावमा नेपालले सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न नसक्ने अनुमान पनि गरेका थिए ।

तर, ति सबै अनुमान अनुमानमै सीमित भए । यो सिरिजमा युवा खेलाडीको प्रदर्शन प्रशंसनीय रह्यो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको मलेसिया, नेदरल्याण्ड्ससँगको त्रिकोणात्मक सिरिजमा नेपाली टिमबाट चार युवा खेलाडीले डेब्यू गरे ।

डेब्यू सिरिजमा खेलाडीले राम्रो प्रदर्शन मात्र गरेनन् । उनीहरूले आगामी नेपाल क्रिकेटको भविष्य सुन्दर रहेकोसमेत संकेत देखाए ।

पछिल्लो पटक शरद भेषवाकर, बसन्त रेग्मीलगायतका अनुभवी र एक समयका महत्वपूर्ण सदस्य टिम बाहिर छन् ।

उनीहरूको अनुपस्थितिमा पनि युवा खेलाडीले राम्रो प्रदर्शन गर्दै गए टिमको नेतृत्व गर्ने मौका पनि युवाले नै पाउने सम्भावना छ ।

यसैबीच, आज आगामी दिनमा नेपाली क्रिकेट टिमको कप्तान बन्न सक्ने तीन खेलाडीको चर्चा गर्दैछौँ :

१. दीपेन्द्रसिंह ऐरी : दीपेन्द्र अहिले टिम उपकप्तान हुन् । हालसम्म नेपाली क्रिकेटमा उपकप्तानलाई नै कप्तान बनाएको विगत छन् ।

विगतमा टिम उपकप्तान रहेका ज्ञानेन्द्र मल्ल अहिले कप्तान छन् । पारस खड्काले कप्तान पदबाट राजीनामा दिएपछि ज्ञानेन्द्रले कप्तानी पाए ।

ज्ञानेन्द्रको अनुपस्थितिमा उपकप्तानको हैसियतामा दीपेन्द्रले टिमको कप्तानी गर्दै आएका छन् । उनमा कप्तान बन्न सक्ने गुणको विकास पनि क्रमशः भइरहेको छ ।

दीपेन्द्रसँग विभिन्न घरेलु क्रिकेट लिगमा टिमको कप्तानी गरिसकेको अनुभव छ ।

यसअघि उनले यू-१९ टिमको कप्तानी पनि गरिसकेका छन् । लगातार उत्कृष्ट प्रदर्शन गर्दै गए ज्ञानेन्द्रपछि कप्तान बन्ने सम्भावना दीपेन्द्रको बढी छ ।

२. सन्दीप लामिछाने : नेपाली टिमको कप्तान बन्न सक्ने दाबेदारमा सन्दीपको नाम पनि प्रमुखताका साथ आउँछ ।

उनले पनि यू-१९ टिमका साथै घरेलु लिगमा विभिन्न टिमको कप्तान गरिसकेका छन् ।

विश्व क्रिकेटमा नाम कमाइसकेका भएकाले पनि सन्दीप टिमको कप्तान बन्न सक्छन् । वाक कलामा पनि उनी माहिर छन् ।

तस्बिर : क्यान

ढुक्कका साथ अंग्रेजी बोल्न सक्ने उनमा क्षमता छ ।

साथै, सन्दीपले टिमका लागि लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । आफ्नो लय कामयै राखे आगामी दिनमा उनी टिम कप्तान बन्न सक्ने सम्भावना बलियो छ ।

३. कुशल भुर्तेल : ११ वैशाखमा सम्पन्न त्रिकोणात्मक सिरिजमा कुशलले गरेको प्रदर्शनको चर्चा सेलाएको छैन ।

उनलाई क्रिकेट समीक्षकले लामो ‘रेस’को घोडा पनि भन्न थालेका छन् ।

ओपनिङ ब्याट्सम्यानको भूमिकामा रमाउने कुशललाई नेपाली क्रिकेटको भविष्यका रूपमा पनि हेरिएको छ ।

डेब्यू सिरिजमा उच्च प्रदर्शन गरेपछि विभिन्न टेलिभिजनमा दिएका अन्तर्वार्ता हेर्दा लाग्छ कुशल आगामी दिनमा टिम कप्तान पनि बन्न सक्छन् ।

कुशलको बोल्ने शैली स्पष्ट छ । साथै, उनमा शीघ्र सकारात्मक निर्णय लिन सक्ने क्षमता पनि छ । कुशल कप्तान बन्न सक्ने विभिन्न गुण विकास गर्दै गएका छन् ।

उत्कृष्ट प्रदर्शन गर्दै गए कुशल पनि आगामी दिनमा नेपाली टिमको कप्तान बन्न सक्छन् । भनिन्छ नि ‘दिउँसोको संकेत बिहानीले गर्छ ।’

डेब्यूमै गरेको प्रदर्शनले पनि कुशल आगामी दिनमा अझै चम्किँने छन् ।

Loading...