खोसियो वार्नरको कप्तानी, विलियम्सन फेरि बने हैदराबादको कप्तान

काठमाडौं- आईपीएल टिम सनराइजर्स हैदराबादले आईपीएल २०२१ का बाँकी म्याचका लागि केन विलियम्सनलाई कप्तानमा नियुक्त गरेको छ ।

डेविड वार्नरलाई हटाउँदै हैदराबादले विलियम्सनलाई कप्तानमा नियुक्त गरेको हो ।

हैदराबादले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विलियम्सनलाई कप्तानमा चयन गरिएको जनाएको हो । जारी सिजनमा वार्नरको कप्तानीमा हैदराबादले खराब प्रदर्शन गरिरहेको छ ।

खराब प्रदर्शनकै कारण वार्नरको कप्तानीमाथि पनि विभिन्न प्रश्न उठिरहेको थियो । चर्को आलोचनाका बीच हैदराबादले वार्नरलाई हटाउँदै विलियम्सनलाई पुनः कप्तानमा नियुक्त गरेको हो ।

यसअघि पनि विलियम्सनले हैदराबादको कप्तानी गरिसकेका छन् । उनको नेतृत्वमा हैदराबाद २०१८ मा आईपीएलको फाइनलमा समेत पुगेको थियो ।

वार्नरको कप्तानीमा हैदराबादले एक पटक आईपीएल उपाधि जितेको छ । जारी सिजनमा भने वार्नर लयमा देखिएका छैनन् ।

आक्रामक ब्याटिङ गर्ने उनी आईपीएल २०२० मा सुस्त गतिमा रन बनाइरहेका छन् । केही दिनअघि मात्र वार्नरले टी-२० करियरमै पहिलो पटक बढी बल खेल्दै अर्धशतक बनाएका थिए ।

जारी सिजनमा हैदराबादले ६ म्याच खेल्दा पाँचमा हार र एक खेलमा मात्र जित हासिल गरेको छ । उसले आफ्नो आठौँ म्याच भोलि (आइतबार) राजस्थान रोयल्सविरुद्ध खेल्ने छ ।

Loading...