चेन्नईले दियो मुम्बईलाई विशाल लक्ष्य, तीन ब्याट्सम्यानले गरे छक्काको वर्षा

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको २७औँ खेलमा चेन्नई सुपर किंग्स (सीएसके)ले मुम्बई इण्डियन्सलाई २ सय १९ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि तीन ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरे । मुम्बईविरुद्ध पनि ओपनर फाफ डुप्लेसिसले अर्धशतकीय पारी खेले ।

उनले २८ बलमा पाँच छक्का र दुई चौकासहित ५० रन बनाए । जारी सिजनमा फाफको यो लगातार चार अर्धशतक हो ।

त्यस्तै, अलराउन्डर मोइन अलीले पनि आक्रामक पारी खेले । उनले ३६ बलमा पाँच छक्का र पाँच चौैकाको मद्दतमा ५९ रन बनाए ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका अम्बाती रायडूले आक्रामक पारी खेल्दै विपक्षी टिमलाई बलियो लक्ष्य दिन महत्वपूर्ण योगदान दिए । उनले २७ बलमा सात छक्का र चार चौकासहित अविजित ७२ रनको योगदान दिए ।

त्यस्तै, ऋतुराज गायकवाड चार, सुरेश रैना दुईमा आउट हुँदा अलराउन्डर रवीन्द्र जडेजा नटआउट २२ रनमा अविजित रहे ।

बलिङमा किरण पोलार्डले दुई, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले एक/एक विकेट लिए ।

Loading...