पोलार्ड चम्किँदा चेन्नईविरुद्ध मुम्बईको कीर्तिमानी जित

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध मुम्बई इण्डियन्स चार विकेटले विजयी भएको छ ।

आईपीएल इतिहासमा मुम्बईको यो सर्वाधिक ठूलो लक्ष्य पूरा गरेको म्याच हो ।

यसअघि मुम्बईले सन् २०१७ मा पञ्जाब किंग्सले दिएको १९९ रनको लक्ष्य पूरा गरेको थियो ।

आईपीएल २०२१ मा आफ्नो सातौँ म्याचमा चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

उसका लागि उपकप्तान किरण पोलार्डले शानदार पारी खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौकासहित अविजित ८७ रन बनाए ।

त्यस्तै, क्विन्टन डिककले ३८, कप्तान रोहित शर्माले ३५, कृणाल पाण्ड्याले ३२ र हार्दिक पाण्ड्याले १६ रनको योगदान दिए ।

बलिङमा साम करनले तीन, शार्दुल ठाकुर, रवीन्द्र जडेजा र मोइन अलीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका लागि तीन ब्याट्सम्यानले आक्रामक ब्याटिङ गरे ।

पाँचौ नम्बरमा ब्याटिङमा आएका अम्बाती रायडूले आक्रामक पारी खेल्दै विपक्षी टिमलाई बलियो लक्ष्य दिन महत्वपूर्ण योगदान दिए । उनले २७ बलमा सात छक्का र चार चौकासहित अविजित ७२ रनको योगदान दिए ।

मुम्बईविरुद्ध पनि ओपनर फाफ डुप्लेसिसले अर्धशतकीय पारी खेले । उनले २८ बलमा पाँच छक्का र दुई चौकासहित ५० रन बनाए । जारी सिजनमा फाफको यो लगातार चौथो अर्धशतक हो ।

त्यस्तै, अलराउन्डर मोइन अलीले पनि आक्रामक पारी खेले । उनले ३६ बलमा पाँच छक्का र पाँच चौैकाको मद्दतमा ५९ रन बनाए ।

त्यस्तै, ऋतुराज गायकवाड चार, सुरेश रैना दुई रनमा आउट हुँदा अलराउन्डर रवीन्द्र जडेजा २२ रनमा अविजित रहे ।

बलिङमा किरण पोलार्डले दुई, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले एक/एक विकेट लिए ।

चेन्नईसँगको जितले मुम्बई अंक तालिकाको चौथो स्थानमा रहन सफल भएको छ । उसले ७ म्याचमध्ये चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

हारको सामना गरे पनि चेन्नई शीर्ष स्थानमै कायमै छ ।

यस्तो बन्यो अंक तालिका :

Loading...