दिल्ली र पञ्जाबको टक्कर आज, चार खेलाडी परिवर्तनको सम्भावना

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको २८औँ म्याचअन्तर्गत आज हुने दोस्रो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

यी दुई टिमबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरू हुनेछ ।

जारी सिजनमा दिल्लीले सात म्याच खेल्दा पाँचमा जित र दुई खेलमा हारको सामना गरेको छ । पञ्जाबले सात म्याचमध्ये चारमा जित र तीन खेलमा हार ब्यहोरेको छ ।

आईपीएल २०२१ मा दिल्लीको कप्तानी विकेटकीपर ऋषभ पन्तले गरिरहेका छन् । नियमित कप्तान श्रेयस अय्यर घाइते भएपछि पन्तले दिल्लीको कप्तानी पाएका हुन् ।

जारी संस्करणको लिग चरणको पहिलो खेलमा पञ्जाबविरुद्ध दिल्ली ६ विकेटले विजयी भएको थियो ।

दिल्लीविरुद्ध पञ्जाबको प्लेइङ-११ मा केही परिवर्तन देख्न पाइने सम्भावना छ ।

उसले निकोलश पूरनको स्थानमा डेविड मलान, प्रभासीमरण सिंहको स्थानमा मयंक अग्रवाललाई मौका दिने सम्भावना छ ।

त्यस्तै, दिल्लीले स्टिभ स्मिथको स्थानमा साम बिलिङ्सलाई प्लेइङ-११ मा स्थान दिन सक्छ । जारी सिजनमा टिमले सात म्याच खेल्दा उनी भने बेन्चमै सीमित छन् ।

आजै हुने पहिलो खेलमा सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स खेल्दैछन् । यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजेदेखि दिल्लीमा सुरू हुनेछ ।

दिल्लीको सम्भावित प्लेइङ-११ : पृथ्वी शा, शिखर धवन, ऋषभ पन्त (कप्तान), मार्कस स्टोइनिस, शिमरोन हेटमायर, साम बिलिङ्स, ललित यादव, अक्षर पटेल, कागिसो रबाडा, आवेश खान र इशान्त शर्मा ।

पञ्जाबको सम्भावित प्लेइङ-११ : मयंक अग्रवाल/प्रभासीमरण सिंह, केएल राहुल (कप्तान), क्रिस गेल, डेविड मलान, दीपक हूडा, शाहरुख खान, हरप्रीत ब्रार, क्रिस जोर्डन, झय रिचर्डसन/रिले मेरिडीथ, रवि विश्नोई र मोहम्मद शामी ।

Loading...