धोनी भन्छन् : दुई कारणले मुम्बईसँग हार्‍यौँ

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलको गएराति भएको मुम्बई इण्डियन्सविरुद्धको खेलमा चेन्नई सुपर किंग्स (सीएसके) तीन विकेटले पराजित हुन पुग्यो ।

२ सय १९ रनको विशाल लक्ष्य दिँदा पनि चेन्नई पराजित हुन पुगेको हो । निकै रोमाञ्चक बनेको खेल मुम्बईले अन्तिम बलमा जित्यो ।

मुम्बईसँगको हारपछि चेन्नईका कप्तान महेन्द्रसिंह धोनीले आफ्नो प्रतिक्रिया दिएका छन् । उनले बलरले सही तरिकाले बलिङ नगर्दा र खराब फिल्डिङका कारण टिम पराजित हुन पुगेको बताए ।

‘पीच उत्कृष्ट थियो । रनका बन्न लागि निकै अनुकूल पीचमा मुम्बईले जित हात पार्न सफल भयो । धेरै समयमसम्म हामी म्याचमा अगाडि थियौँ,’ म्याच सकिएपछि धोनीले भने, ‘हाम्रा बलरले सही तरिकाले बलिङ गर्न सकेनन् । हामीले गरेको योजनाअनुसार बलिङ गर्न सकिएन । म हारको सबै कारण बलरलाई मात्र पनि दिन सक्दिन । फिल्डिङमा पनि हामी चुक्यौँ । केही महत्वपूर्ण क्याच ड्रप हुँदा पनि म्याच हार्न पुग्यौँ ।’

धोनीले जारी सिजनमा अझै पनि टिम शीर्ष स्थानमा रहेकाले मुम्बईसँगको म्याचमा गरेका गल्ती आगामी दिनमा सुधार गर्ने बताए ।

‘हामी अझै प्वाइन्ट्स टेबलको शीर्ष स्थानमा कायमै छौँ । यो हारले धेरै फरक त पर्ने छैन । तर, मुम्बईविरुद्ध गरेका गल्तीलाई सुधार गर्दै आगामी म्याच खेल्नुपर्छ,’ उनले भने ।

चेन्नईले दिएको २ सय १९ रनको लक्ष्य मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि किरण पोलार्डले आक्रामक पारी खेले । उनले ३४ बलमा ८ छक्का र ६ चौकासहित अविजित ८७ रन बनाए ।

त्यस्तै, क्विन्टन डिककले ३८, कप्तान रोहित शर्माले ३५, कृणाल पाण्ड्याले ३२ र हार्दिक पाण्ड्याले १६ रनको योगदान दिए ।

बलिङमा साम करनले तीन, शार्दुल ठाकुर, रवीन्द्र जडेजा र मोइन अलीले एकरएक विकेट हात पारे ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २ सय १८ रन बनायो ।

उसका पाँचौ नम्बरमा ब्याटिङमा आएका अम्बाती रायडूले आक्रामक पारी खेले । उनले २७ बलमा सात छक्का र चार चौकासहित अविजित ७२ रनको योगदान दिए ।

ओपनर फाफ डुप्लेसिसले पनि अर्धशतकीय पारी खेले । उनले २८ बलमा पाँच छक्का र दुई चौकासहित ५० रन बनाए ।

जारी सिजनमा फाफको यो लगातार चौथो अर्धशतक हो ।

त्यस्तै, अलराउन्डर मोइन अलीले पनि आक्रामक पारी खेले । उनले ३६ बलमा पाँच छक्का र पाँच चौकाको मद्दतमा ५९ रन बनाए ।

त्यस्तै, ऋतुराज गायकवाड चार, सुरेश रैना दुई रनमा आउट हुँदा अलराउन्डर रवीन्द्र जडेजा २२ रनमा अविजित रहे ।

बलिङमा किरण पोलार्डले दुई, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले एक/एक विकेट लिए ।

योसँगै मुम्बई अंक तालिकाको चौथो स्थानमा कायमै रहन सफल भएको छ । उसले ७ म्याचमा चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

मुम्बईविरुद्ध पनि हारको सामना गरे पनि चेन्नई शीर्ष स्थानमा कायमै छ ।

यस्तो बन्यो अंक तालिका :

Loading...