हैदराबादभित्र विवाद, पाण्डेका कारण खोसियो वार्नरको कप्तानी!

काठमाडौं- भारतमा जारी १४औँ सिजनको आईपीएलमा सनराइजर्स हैदराबादले ६ म्याच खेल्दा पाँच हार र एक खेलमा मात्र जित हासिल गरेको छ ।

खराब प्रदर्शनका कारण हैदराबादले शनिबार कप्तान परिवर्तन गर्ने निर्णय गर्‍यो ।

हैदराबादले शनिबार डेविड वार्नरलाई हटाउँदै केन विलियम्सनलाई कप्तानमा नियुक्त गरेको छ ।

धेरैले खराब प्रदर्शनका कारण वार्नरले कप्तानी गुमाएको आँकलन गरेका छन् । तर, उनले कप्तानी गुमाउनुको कारण अन्य नै रहेको सञ्चारमाध्यम र क्रिकेट कमेन्टेटरले जनाएका छन् ।

आईपीएलको धेरै सिजनमा कमेन्ट्री गरेका न्यूजिल्याण्डका साइमन डूलले वार्नरलाई कप्तानबाट हटाउनुको कारणबारे उल्लेख गरेका छन् ।

उनले मनिष पाण्डेका कारण वार्नरलाई हैदराबादले कप्तानबाट हटाएको दाबी गरेका छन् ।

दिल्ली क्यापिटल्सविरुद्ध हैदराबादले मनिषलाई प्लेइङ-११ मा समावेश गरेको थिए । दिल्लीसँग ‘सुपर ओभर’मा हारेपछि वार्नरले प्रेस कन्फरेन्समा मनिषको बारेमा प्रतिक्रिया दिएका थिए ।

वार्नरले प्रेस कन्फरेन्समा दिल्लीविरुद्ध मनिषलाई नखेलाउनुमा चयनकर्ताको फैसला रहेको बताएका थिए ।

उनले आफूले पाण्डेलाई खेलाउन पूरा प्रयास गरे पनि चयनकर्ताले मनिषलाई ‘ड्रप’ गरेको प्रतिक्रिया दिएका थिए ।

वार्नरको सो प्रतिक्रियापछि हैदराबादभित्र विभिन्न बहस सिर्जना भएको सञ्चारमाध्यमले लेखेका छन् ।

क्रिकबजसँगको कुराकानीमा साइमन डूलले पनि वार्नरलाई कप्तानबाट हटाउनको कारण मनिषबारे दिएको अभिव्यक्ति नै रहेको बताएका छन् ।

‘मनिष पाण्डेलाई दिल्ली विरुद्ध ड्रप गराउन वार्नरले चयकनर्ताले भूमिका खेलेको बताए । चयनकर्तामाथि आरोप लगाएकाले वार्नरले कप्तानी गुमाउनुपर्‍यो,’ साइमनले भनेका छन् ।

यसअघि पनि वार्नरलाई कप्तानबाट हटाउँदै हैदराबादले विलियम्सनलाई कप्तानमा नियुक्त गरेको थियो । बल टेम्परिङ काण्डमा मुछिएपछि वार्नरको स्थानमा विलियम्सनले टिमको कप्तानी पाएका थिए ।

हालसम्म वार्नरको नेतृत्वमा हैदराबादले एक पटक उपाधि जितेको छ । साथै, उनको कप्तानीमा गत सिजनमा हैदराबाद प्लेअफमा प्रवेश गरेको थियो ।

विलियम्सनले आफ्नो कप्तानीमा हैदराबादलाई सन् २०१८ मा फाइनलमा पुर्‍याएका थिए ।

जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेकाले पनि विलियम्सनलाई हैदराबादले फेरि कप्तानी दिने निर्णय गरेको हो ।

हैदराबादले आफ्नो सातौँ म्याचमा आज राजस्थान रोयल्सको सामना गर्दैछ । यी दुई टिमबीचको खेल दिउँसो ३ः४५ बजेदेखि दिल्लीमा सुरू हुनेछ ।

Loading...