हैदराबादविरुद्ध राजस्थानको हालसम्मकै फराकिलो जित

काठमाडौं-  भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध राजस्थान रोयल्स ५६ रनले विजयी भएको छ ।

जारी सिजनमा राजस्थानको यो तेस्रो जित हो ।

हैदराबादको भने यो छैटौँ हार हो । उसले सात म्याच खेल्दा एक खेलमा मात्र जित हासिल गरेको छ ।

सातौँ म्याचमा आज राजस्थानले दिएको २ सय २१ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो ।

उसका लागि मनिष पाण्डेले ३१, जोनी बेयरिस्टोले ३०, कप्तान केन विलियम्सनले २०, केदार जाधवले १९, मोहम्मद नाबीले १७, भुवनेश्वर कुमारले अविजित १४ र अब्दुल समदले १० रन बनाए ।

बलिङमा क्रिस मोरिस, मुस्तफिजुर रहमानले तीन/तीन, राहुल तेवटिया र कार्तिक त्यागीले एक/एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २० रन बनायो ।

उसका लागि ओपनर जोश बटलरले शतकीय पारी खेले ।

उनले ६४ बलमा ११ चौका र ८ छक्कासहित १२४ रन बनाए । टी-२० करियरमा बटलरको यो पहिलो शतक हो । जारी सिजनमा भने उनी शतक बनाउने तेस्रो ब्याट्सम्यान हुन् ।

यो संस्करणमा राजस्थानका कप्तान सञ्जु सामसन र आरसीबीका देवदत्त पाडिक्कलले शतक बनाइसकेका छन् ।

त्यस्तै, आज कप्तान सञ्जु सामसनले ३३ बलमा दुई छक्का र चार चौकाको मद्दतमा सहित ४८ रनको योगदान दिए ।

एशस्वी जैसवाल १२ रनमा आउट हुँदा रियान पराग १५ र डेविड मिलर सात रनमा अविजित रहे ।

बलिङमा सन्दीप शर्मा, राशिद खान र विजय शंकरले एक/एक विकेट लिए ।

आजको जितसँगै राजस्थान पाँचौ स्थानमा उक्लिएको छ । हैदराबाद भने अंक तालिकाको पुछारमा छ ।

राजस्थानको जितसँगै यस्तो बन्यो अंक तालिका : 

Loading...