श्रीलंका फर्कदै प्रशिक्षक ह्वाटमोर

काठमाडौं- नेपाली क्रिकेट टिमका प्रमुख प्रशिक्षक डेभ ह्वाटमोर श्रीलंका जाने भएका छन् । उनी आज दिउँसो १ बजे त्यसतर्फ जान लागेका हुन् ।

प्रशिक्षक ह्वाटमोर एक महिनाका लागि श्रीलंका जान लागेका नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

नेपालमा कोरोना कारण खेलकुद ठप्प भएपछि पारिवारिक भेटघाटका लागि उनी एक महिना श्रीलंकामा बिताउने छन् ।

गएको माघमा नेपाली क्रिकेट टिमको जिम्मेवारी सम्हालेका ह्वाटमोरको प्रशिक्षणमा यही वैशाखमा नेपालले त्रिकोणात्मक सिरिज जितेको थियो ।

घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसियासँग भएको टी-२० सिरिजमा ह्वाटमोरको प्रशिक्षणमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो । उनले आफ्नो पहिलो सिरिजमै राम्रो संकेत देखाएका छन् ।

ह्वाटमोर विश्वकप विजेता टिमका प्रशिक्षक पनि हुन् । उनको प्रशिक्षणमा श्रीलंकाले सन् १९९६ मा एकदिवसीय विश्वकप जितेको थियो ।

६७ वर्षीय ह्वाटमोर श्रीलंकामा जन्मिए पनि अष्ट्रेलियामा क्रिकेट खेले । उनले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १० टेष्ट र एक वानडे म्याच खेले ।

अन्तर्राष्ट्रिय क्रिकेट धेरै खेल्न नपाए पनि ह्वाटमोर प्रशिक्षकका रूपमा भने सफल मानिन्छन् ।

ह्वाटमोरले अन्तिम पटक सन् १९८० मा अन्तर्राष्ट्रिय म्याच खेलेका थिए । उनले अन्तिम पटक वेष्ट इण्डिजविरुद्ध म्याच खेलेका थिए ।

Loading...